27 May 2024  |   सोमवार, जेष्ठ १४, २०८१

बाँकेको सुरक्षा कमजोरः चन्दा नदिदाँ ढालिए बिजुलीका पोल (भिडियोसहित)

मिसनटुडे संवाददाता
प्रकाशित मितिः आइतवार, जेष्ठ २३, २०७८  


कृष्ण ओली । कोहलपुर ।

बाँकेमा पश्चिम क्षेत्रकै ठूलो उद्योग जय अम्बे स्टिल उद्योगमा बिजुली लैजानका लागि गाडिएका पोलहरु ढालिएका छन् । नेपालगञ्ज–कोहलपुर सडक खण्डको गनापुरदेखि जानकी गाउँपालिका, ६ मा रहेको उद्योगसम्म बिजुली लैजानको लागि गाडिएका पोलहरु अज्ञात समूहले जेसीबी लगाएर ढालिदिएको हो ।

फ्याक्ट्री म्यानेजर अनुप कुमार श्रेष्ठले बिहीबार दिउँसोतीर ११ वटा बिजुली लैजान गाडिएका पोलहरु अज्ञात समूहले ढालिदिएको जानकारी दिए । ‘उद्योगसम्म बिजुली पु¥याउनको लागि काम अन्तिम चरणमा पुगेको थियो’ उनले भने, ‘आज भोली नै बिजुली ल्याउने योजना हो । तयारी अवस्थामा रहेको संरचना विकास विरोधीहरुले क्षती पु¥याइदिदाँ अब अन्यौलता भएको छ ।’

११ वटा पोल ढाल्दा पोल र तार तथा निर्माणको खर्च गरेर १२ लाख बढी क्षती भएको फ्याक्ट्री म्यानेजर श्रेष्ठले मिसन टुडेलाई जानकारी दिए । उद्योगले गनापुरदेखि उद्योगसम्म बिजुली ल्याउनको लागि ४ किलोमिटर क्षेत्रमा पोल राख्न र तार तान्नको लागि कोहलपुरका व्यवसायी त्रिलोक धिताललाई ठेक्का दिएको थियो ।

दुई लाख चन्दा माग

वडाअध्यक्ष लगायतलाई मिलाउनुपर्छ भन्दै स्थानीय एक व्यक्तिले निर्माण व्यवसायीलाई दुई लाख रकम मागेका थिए । विद्युत् प्राधिकरणका कर्मचारी समेत रहेका ती व्यक्ति लगायतको समूहले दुई लाख नदिए जे पनि हुनसक्ने धम्की दिएको निर्माण कार्यमा संग्लन एक कर्मचारीले जानकारी दिए ।

‘दुई लाख रकम माग गरेपछि त्यती रकम दिन नसक्ने भन्दै हामीले ५० हजार रुपैयाँ दिएका थियौं’ ती कर्मचारीले भने, ‘त्यसको ३/४ दिनमा त पोलहरु नै ढालिए ।’ सावधानीपूर्वक पोलहरु ढालेर क्षती गराइएकोले विद्युत् सम्बन्धी जानकार मान्छेको अगुवाईमा नै घटना गराइएको आशंका गरिएको छ ।

अनुसन्धानमा प्रहरीको ढिलाई

प्रहरी चौकी गनापुरको केही मिटरमा नै दिउँसै घटना हुँदा समेत प्रहरीले अहिलेसम्म कसैलाई पक्राउ गर्न सकेको छैन । निर्माण व्यवसायी र उद्योगले बाँकेमा सिडिओ तथा प्रहरी प्रमुखलाई समेत जानकारी दिदाँ घटनालाई गम्भीरतापुर्वक नलिएको पाइएको हो ।

यसबारे बुझ्न खोज्दा जिल्ला प्रहरी कार्यालय बाँकेमा प्रमुख प्रहरी उपरीक्षक ओम बहादुर राना र प्रवक्ता प्रहरी नायब उपरीक्षक सुवास खड्काले फोन उठाएनन् ।

प्रकाशित मितिः आइतवार, जेष्ठ २३, २०७८     3:48:42 PM  |