5 December 2021  |   आइतवार, मंसिर १९, २०७८

सडकमा सूचनामुलक बोर्ड

मिसनटुडे संवाददाता
प्रकाशित मितिः आइतवार, जेष्ठ २३, २०७८  

शिवु खनाल । दाङ ।

बढ्दो सवारी दुर्घटना न्यूनीकरणका लागि अस्थाई ट्राफिक पोष्ट लमहीले सचेतनामुलक बोर्डहरु राखेको छ । पूर्वपश्चिम राजमार्ग अन्तरर्गत लमही कोहलपुर सडक खण्डका विभिन्न स्थानहरुमा सचेतनामुलक बोर्ड स्थापना गरेको हो ।

बढ्दो सवारी दुर्घटना न्यूनीकरणका लागि ट्राफिक पोष्ट लमहीले लमही नगरपालिका वडा नम्बर ७ को वडा कार्यालयको सहयोगमा लमही कोहलपुर सडक खण्डको दायाँ र बायाँ गरि चारवटा सचेतनामुलक बोर्ड राखेको अस्थाई ट्राफिक पोष्ट लमहीका ईन्चार्ज मधु थापाले जानकारी दिए ।

‘राजमार्गका विभिन्न क्षेत्रमा दुर्घटनाको संख्या बढ्दै गएको छ । उक्त दुर्घटनालाई न्यूनिकरण गर्न सडकको दुबै तर्फ सचेतनामुलक बोर्ड स्थापना गरिएको हो’ उनले भने, ‘दुर्घटना न्यूनीकरणका लागि देउखुरीका विभिन्न क्षेत्रमा रात्रीकालिन चेकचाँजदेखि लिएर अन्य प्रशिक्षण कार्यहरु भइरहेको छन् ।’ दुर्घटना न्यूनीकरणका विभिन्न प्रयासहरु भइरहेको भन्दै थापाले सोही अनुरुप जनचेतनामुलक बोर्ड पनि स्थापना गरिएको दाबी गरे ।

ती सचूना मुलक बोर्डहरुमा ‘तीव्र गतिमा सवारी नहाँकौ, मापसे गरी सवारी नचलौं, ट्राफिक नियमको पालना गरौं’लगायत जस्ता सन्देश उल्लेख गरिएको छ । यस्तै लमही नगरपालिका वडा नम्बर ७ का अध्यक्ष मोहन गिरीले दैनिकजसो दुर्घटना हुन थालेपछि सचेतनामुलक बोर्ड सहयोग गरिएको जानकारी दिए । ‘सवारी दुर्घटना न्यूनिकरणको लागि सबैले हातेमालो गर्नुपर्ने जरुरी रहेको छ’ उनले भने, ‘सोही अनुसार वडाले समेत केही आर्थिक सहयोग गरेको हो ।’

प्रकाशित मितिः आइतवार, जेष्ठ २३, २०७८     8:54:34 AM  |