कोहलपुर ।
कर्णाली प्रदेशसभाको बजेट अधिवेशन भोली सोमबारका लागि बोलाइएको छ । प्रदेश सरकारको सिफारिसमा शुक्रबार प्रदेश प्रमुख गोविन्दप्रसाद कलौनीले भोली सोमबार बजेट अधिवेशनको आह्वान गरेका हुन् ।
प्रदेश प्रमुखको कार्यालयले विज्ञप्ति निकालेर संविधानको धारा १८३ को उपधारा (१) बमोजिम अधिवेशन जेठ २४ गते दिउँसो २ बजेदेखि अधिवेशन सुरु हुने जानकारी दिएको छ । बिहीबार बसेको सर्वदलीय बैठकले प्रदेशसभाको वर्षे अधिवेशन अविलम्ब बोलाउन प्रदेश सरकारलाई आग्रह गरेको थियो । सर्वदलीय बैठकमा मुख्यमन्त्री शाही, प्रमुख प्रतिपक्षी दल नेकपा एमाले प्रदेश संसदीय दलका नेता यामलाल कँडेल, कांग्रेस दलका नेता जीवनबहादुर शाही, राप्रपा सांसद शोसिला शाही र मन्त्रीहरु सहभागी थिए ।
बैठकमा सहभागी दलका नेताहरुले असार १ गतेभित्र प्रदेश सरकारले बजेट ल्याइसक्नुपर्ने संवैधानिक व्यवस्था रहको भन्दै मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई अविलम्ब अधिवेशन बोलाउन आग्रह गरेका थिए । दलहरुको आग्रहपछि मुख्यमन्त्री शाहीले जेठ २५ गतेभित्र बजेट अधिवेशन बोलाउने प्रतिबद्धता जनाएका थिए । असार १ गते प्रदेश सरकारले बजेट ल्याउनुपर्ने संवैधानिक व्यवस्था छ ।
त्यसअघि नीति तथा कार्यक्रम र विनियोजन विधेयकको सिद्धान्त र प्राथमिकताबारे छलफल गर्ने प्रचलन छ । आगामी आर्थिक वर्ष २०७८÷०७९ का लागि कर्णाली सरकारले करिब रु ३३ अर्ब बराबरको बजेट ल्याउने तयारी गरेको आर्थिक मामिला तथा योजनामन्त्री गोपाल शर्माले जानकारी दिए ।
प्रतिक्रिया दिनुहोस्