9 December 2021  |   बिहिबार, मंसिर २३, २०७८

बाँकेमा थपिए ४३ संक्रमित, जिल्लाका अस्पतालमा थप ७ को मृत्यु

मिसनटुडे संवाददाता
प्रकाशित मितिः आइतवार, जेष्ठ २३, २०७८  

नेपालगञ्ज ।

पछिल्लो २४ घण्टामा शनिबार बाँकेमा थप ४३ मा कोरोना संक्रमण पुष्टि भएको छ । जिल्लाका तीन प्रयोगशालामा गरिएको परीक्षणमा १७ महिला र २३ पुरुषमा संक्रमण पुष्टि भएको हो । भेरी अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणमा १० महिला र २१ पुरुष गरी ३१, मेडिकल कलेज कोहलपुरमा गरिएको परीक्षणमा ४ महिला र ३ पुरुष गरी ७ तथा बागेश्वरीको ल्याबमा गरिएको परीक्षणमा ३ महिला र २ पुरुष गरी ५ जनामा संक्रमण देखिएको थियो ।

योसँगै बाँकेमा कुल कोरोना संक्रमितको संख्या १७ हजार २ सय ३८ पुगेको छ । तीमध्ये ७ हजार ३ सय ३५ महिला र ९ हजार ९ सय ३ पुरुष रहेका छन् । शनिबार बाँकेका प्रयोगशालामा गरिएको परीक्षणमा बाहिरी जिल्लाका ६२ जनामा संक्रमण पुष्टि भएको जिल्ला कोभिड व्यवस्थापन समिती बाँकेले जनाएको छ । पछिल्लो २४ घण्टामा थप ७९ जना कोरोना जितेर घर फर्किएका थिए । ४० महिला र ३९ पुरुष गरेर ७९ डिस्चार्ज भएको जिल्ला कोभिड व्यवस्थापन समिती बाँकेका फोकल पर्सन तेज ओलीले जानकारी दिए ।

योसँगै बाँकेमा कोरोना जित्नेहरुको संख्या १६ हजार ५ सय २३ पुगेको उनले बताए । कोरोना जित्नेहरुमा ७ हजार ४१ महिला र ९ हजार ४ सय ८२ पुरुष रहेका छन् । पछिल्लो २४ घण्टामा अवधिमा बाँकेमा अस्पतालमा उपचाररत ७ संक्रमितको मृत्यु भएको थियो । भेरी अस्पताल र नेपालगञ्ज मेडिकल कलेजमा गरेर ४३ वर्षदेखि ७२ वर्षसम्मका ७ जना कोरोना संक्रमितहरुको उपचारका क्रममा मृत्यु भएको जिल्ला कोभिड व्यवस्थापन समिती बाँकेले जनाएको छ ।

मृतकमध्ये ३ जना बाँके जिल्लाका र ४ जना बाहिरी जिल्लाका रहेको जिल्ला कोभिड व्यवस्थापन समिती बाँकेका फोकल पर्सन ओलीले बताए । मृत्यु हुनेहरुमा चौरजहारी नगरपालिका, ४ रुकुमपश्चिमकी ६५ वर्षीया महिला, नेपालगञ्ज उमनपा ,११ बाँकेकी ५५ वर्षीया महिला, गुलरिया नगरपालिका, ४ बर्दियाका ५७ वर्षीया पुरुष , कोहलपुर नगरपालिका, १४ बाँकेका ७० वर्षीया महिला, तुलसीपुर उप–महानगरपालिका, १८ दाङ्गका ७२ वर्षीया महिला, बारबर्दिया नगरपालिका, २ बर्दियाका ४५ वर्षीया महिला र खजुरा गाउँपालिका, ३ बाँकेका ४३ वर्षीय पुरुष रहेका छन् ।

योसँगै हालसम्म कोरोना भाइरस संक्रमणका कारण जिल्ला बाहिरबाट उपचारका लागि आएका ३ सय ११ जना र जिल्ला भित्रकै ३ सय जनाले ज्यान गुमाईसकेका छन् । जिल्ला भित्र र बाहिरी जिल्ला गरेर ६ सय ११ जनाको उपचारका क्रममा बाँकेका अस्पतालमा मृत्यु भइसकेको छ । शनिबारसम्म बाँकेमा सक्रिय संक्रमितको संख्या १ सय ६८ महिला र २ सय ४७ पुरुष गरेर ४ सय १५ रहेको छ । तीमध्ये ३ सय ८६ होम आइसोलेसन रहेका छन् भने २ सय ३५ जना अस्पताल तथा आइसोलेसन सेन्टरमा रहेका छन् । बाँकेमा बाहिरी जिल्लाका २ सय ६ जना संक्रमितको उपचार भइरहेको छ ।

प्रकाशित मितिः आइतवार, जेष्ठ २३, २०७८     8:52:07 AM  |