गर्मी निकै बढेको छ । त्यसका कारण तराईको जनजीवन निकै प्रभावित भएको छ । तराईमा त अहिले दिउँसो बाहिर निस्किन पनि कठिन जस्तै भएको छ । गर्मीसँगै अस्पतालमा बिरामीको चाप पनि थपिएको छ । अस्पतालहरूको तथ्यांक हेर्ने हो भने जाडोयामको तुलनामा गर्मी र वर्षायाममा अस्पताल पुग्ने बिरामीको संख्या करिब दुई गुना हुने गर्छ ।
के हुन्छ गर्मीमा
चर्को गर्मीका कारण गर्मीयाममा शरीर सुक्खा हुने, टाउको दुःख्ने, वाकवाकी लाग्ने, खाना रुचि नहुने, कमजोर महसुस हुने, थकाइ लाग्ने, अचानक रिंगटा लाग्ने, बेहोस हुने, हातखुट्टा बाउँडिने, जलवियोजन आँखा पोल्ने, आँखा पाक्ने, झाडापखाला, टाइफाइड तथा जन्डिसजस्ता रोग देखा पर्न सक्छन् ।
के गर्ने त ?
– गर्मीका कारण सुरु हुने यस्ता रोगबाट बच्न सरसफाइ तथा खानपानमा ध्यान दिनुपर्छ ।
– गर्मीयाममा बिहान सूर्योदय अगाडि नै उठ्नुपर्छ ।
-बिहानको शीतल मिर्मिरेमा उठ्नाले मनमा अर्कै आनन्दको अनुभूति हुन्छ ।
– बिहान उठेर एकदुई गिलास पानी पिएर शौचालय जानु पर्छ ।
– दिसापिसाब गरेपछि स्नान गर्नु राम्रो हुन्छ ।
– पानी पिउनाले र नुहाउनाले शरीरमा बढेको तापक्रम कम हुनुका साथै शरीर शुद्धि हुन्छ ।
– बिहान दुई/तीन किलोमिटर हिँड्नु राम्रो हुन्छ ।
– गर्मीयाममा राति अबेरसम्म बस्नु राम्रो हुँदैन ।
– छिटै सुत्ने र बिहान छिटै उठ्ने बानी बसाल्नुपर्छ ।
– राति अबेरसम्म बस्नै परे पटक पटक पानी पिउनुपर्छ ।
– सुत्नुपहिला हातखुट्टा धोइपखाली गरेर एक गिलास पानी पिएर निश्चित्त सुत्नुपर्छ ।
के खाने, के नखाने ?
– गर्मी मौसममा अमिलो, पिरो, मसालेदार भोजन, दुर्गन्धयुक्त बिग्रेको पदार्थ, पुनः ताजा बनाएको खाना, बासी भोजन, ज्यादै चिसो वा तातो प्रकृतिका खाने कुरा अनि माछामासुको सेवन गर्नु हुँदैन ।
– गुलियो मौसमी, गुलियो आँप, सुन्तला, पाकेको केरा, अंगुर, तबुजा, खर्बुजा, काँक्रो आदि जस्ता फलफूल तथा लौका, फर्सी, घिरौंला, हरियो मटर, बेथे, परबल, करेला, काँचो केरा तथा पाकेको गोलभँेडाआदि जस्ता तरकारीहरू सेवन गर्नुपर्छ ।
– गर्मीयाममा शरीरमा पानीको मात्रा कम रहने हुनाले प्रशस्त मात्रामा पानी पिउनुपर्छ । स्वास्थ्यमा पानीको ठूलो महत्वव छ ।
– जौ वा गहुँको सातुको सर्बत, बेल तथा चिसो मीठो लस्सी आदि पिउनुपर्छ ।
– खानामा भात, जौ वा गहँुको रोटी, मुगी वा मसुरोको पातलो दाल, हरियो सागपातको तरकारी, बिहानको खानामा दही वा मही, प्याज, पुदिना र धनियाँको चट्नी, काँक्रो आदिको सलाद खाना राम्रो हुन्छ ।
पानीबारे धारणा
– हेनरी डिबिट थारोले भनेका छन्, ‘जल बुद्धिमान मानिसको एकमात्र पेय हो ।’
-पानीको यो महत्ववलाई बुझेर नै भारतकी प्रसिद्ध अभिनेत्री ऐश्वर्या रायले भनेकी छिन्, ‘पानीले शरीरलाई ज्यादै फाइदा गर्दछ, सतत ऊर्जा र ताजगी दिन्छ । मैले दिनहुँ कम्तीमा पनि आठ गिलास पानी पिउँछु ।’
– पानीको सन्दर्भमा भारतकी अर्की प्रसिद्ध अभिनेत्री करिना कपुरले भनेकी छन्, ‘चेहराको चमकलाई ठीक राख्न र तनमनलाई स्वस्थ र फुर्तिलो बनाउन मैले खुब पानी पिउँछु । मैले दिनमा कम्तीमा पनि आठ गिलास पानी पिउँछु । पानीले रातदिन कार्य गर्दा थाकेको शरीर र मनलाई ताजा बनाउँछ, कार्य गर्ने ऊर्जा दिन्छ । स्वास्थ्य र सौन्दर्यलाई ठीक राख्न प्रशस्त पानी पिउन जरुरी छ ।’
काम-व्यवहार
– गर्मीयाममा अत्यधिक व्यायाम, परि श्रम गर्नु हँुदैन ।
– धेरैबेरसम्म बाहिर घाममा हिँड्ने वा काम गर्ने गर्नु हुँदैन ।
– बाहिर हिँडदा सुतीको सेतो कपडा लगाउनु उत्तम हुन्छ ।
– बाहिर निस्कनुपूर्व एक गिलास पानी पिउनुपर्छ ।
– घामबाट जोगिन छाता ओढ्ने वा टाउको र कान रुमालले छोप्ने गर्नुपर्छ ।
– बाहिरबाट घरमाआउने बित्तिकै पानी पिउनु हँुदैन ।
– केहीबेर बसेर पसिना सुकेपछि हातखुट्टा तथा मुख धोइपखालेपछि मात्र पानी पिउनुपर्छ ।
– पानी बोत्तलबाट घटघट होइन, गिलासबाट चुस्की लिएर पिउनुपर्छ ।
– सधं सफा पानी पिउने गर्नुपर्छ ।
यी सानातिना कुराहरूमा ध्यान दिने हो भने प्रचण्ड गर्मीबाट राहतमात्र मिल्दैन कि थुप्रै किसिमका रोगहरूबाट बच्न सकिन्छ । गर्मीयाममा पनि आफ्नो स्वास्थ्यलाई सुदृढ राख्न सकिन्छ ।
प्रतिक्रिया दिनुहोस्