22 May 2024  |   बिहिबार, जेष्ठ १०, २०८१

महतोको आन्दोलनप्रति ओलीले अनभिज्ञता प्रकट गरेको सुन्दा आश्चर्यचकित छु : वामदेव

मिसनटुडे संवाददाता
प्रकाशित मितिः शनिबार, जेष्ठ २२, २०७८  

काठमाडौं ।

नेकपा (एमाले)का उपाध्यक्ष वामदेव गौतमले जनता समाजवादी पार्टी (जसपा)का नेता तथा उपप्रधानमन्त्री राजेन्द्र महतोले अहिले पनि सञ्चालन गरिरहेको कथित आन्दोलनले नेपाललाई विखण्डन गर्ने जिकिर गरेका छन् । उनले आज एक वक्तव्य जारी गर्दै महतोले बहुराष्ट्र बनाउने भनेर दिएको अन्तर्वाताले आफू दुःखी भएको पनि बताएका छन् ।

“नेपाल सरकारका उपप्रधानमन्त्री एवं जसपाका नेता राजेन्द्र महतोले संविधानको मर्मविपरीत कार्य गर्ने छैन भनि शपथग्रहण गरेको आधा घण्टा नबित्दै नेपाललाई बहुराष्ट्र र बहुराज्य बनाउने मुक्ति आन्दोलन आफूले अहिले पनि सञ्चालन गरिरहेको अन्तर्वार्ता सुन्दा म अत्यन्त दुःखी भएको छु । नेपालको संविधानको धारा ३ मा स्पष्ट लेखिएको छ– नेपाल अनेकौँ विशेषतासहितको राष्ट्र हो ।

त्यस्तै, संविधानको धारा ४ मा स्पष्ट भनिएको छ– अनेकौँ विशेषतासहित नेपाल राज्य हो । यसको अर्थ हो, नेपालमा एउटा मात्र राष्ट्र छ र एउटा मात्र राज्य छ, त्यो नेपाल हो । राजेन्द्र महतोले अहिले पनि सञ्चालन गरिरहेको त्यो कथित आन्दोलन नेपाललाई विखण्डन गर्नेभन्दा अर्को हुन सक्दैन,” गौतमले भनेका छन् ।

गौतमले नेपाललाई विघटन गर्ने आन्दोलन कुनै नेपालीका निम्ति स्वीकार्य नहुने पनि बताएका छन् । प्रधानमन्त्री केपी शर्मा ओलीले महतोले सञ्चालन गरिरहेको मुक्ति आन्दोलनका सम्बन्धमा अनभिज्ञता प्रकट गरेको सुन्दा आश्चार्यचकित भएको पनि वक्तव्यमा उल्लेख छ ।

“राजेन्द्रजीको त्यो मागलाई अस्वीकार र विरोध मात्र गर्न सकिन्छ । प्रधानमन्त्री श्री केपी ओलीले राजेन्द्र महतोले सञ्चालन गरिरहेको मुक्ति आन्दोलनका सम्बन्धमा अनभिज्ञता प्रकट गरेको सुन्दा आश्चर्यचकित भएको छु,” उनले भनेका छन् ।

 

प्रकाशित मितिः शनिबार, जेष्ठ २२, २०७८     3:25:23 PM  |