29 November 2021  |   सोमवार, मंसिर १३, २०७८

बुवाको साथी हुँ भनेर बालिका अपहरण गर्ने पक्राउ

मिसनटुडे संवाददाता
प्रकाशित मितिः शनिबार, जेष्ठ २२, २०७८  

सप्तरी ।

सप्तरीमा बालिका अपहरण गरेको आरोपमा एक जना पक्राउ परेका छन्। प्रहरीले बालिकालाई अपहरण गरेको आरोपमा राजविराज नगरपालिका वडा नम्बर २ का ३८ वर्षीय नविन देवलाई पक्राउ गरेको हो।

उनलाई प्रहरीले बिहीबार राति पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रहरी नायब उपरीक्षक माधवप्रसाद काफ्लेले जानकारी दिए।

नवीन देवले बिहीबार साँझ पौने ६ बजे राजविराज नगरपालिका वडा नम्बर २ बस्ने सनोजकुमार देवकी १४ वर्षीया छोरीलाई अपहरण गरेका थिए।

१४ वर्षीया बालिका र उनका १६ वर्षीय दाजु घरमा एक्लै बसिरहेको बेलामा नविन देव घर पुगेका थिए। नविनले घरमा गएर आफू बुवाको साथी हुँ भनेर चिनाएको डिएसपी काफ्लेले जानकारी दिए।

‘म बुबाको साथी हुँ। मेरो घरमा घरबासको कार्यक्रम छ म तिमीहरूलाई लान्छु। बुबासँग कुरा भइसकेको छ,’ नवीनले ती बालकलाई भनेका थिए।

त्यसरी उनीहरूलाई फकाएर दुबैलाई नविनले मोटरसाइकलमा राखेर लगे।

मोटरसाइकल चढाएर केही पर लगेपछि नवीनले बालकलाई मोटरसाईकलबाट ओराले र बालिकाको लिएर गरेर भागे। बहिनीको अपहरण गरेको थाहा पाएपछि दाजुले आफ्नी बहिनीलाई अपहरण गरेको भन्दै तत्कालै प्रहरीलाई खबर गरेको डिएसपी काफ्लेले बताए।

त्यसपछि खटिएको टोलीले राजविराज रुपनी सडकखण्डमा फेलापारि उनको उद्दार गरेको थियो। त्यस्तै, नविन देवलाई नियन्त्रणमा लिएर थप अनुसन्धान अघि बढाएको हो।

प्रकाशित मितिः शनिबार, जेष्ठ २२, २०७८     3:17:29 PM  |