9 December 2021  |   बिहिबार, मंसिर २३, २०७८

बेलायतमा फेरि बढ्यो कोरोना संक्रमण, तीन महिना यताकै उच्च

मिसनटुडे संवाददाता
प्रकाशित मितिः शनिबार, जेष्ठ २२, २०७८  

बेलायतमा फेरि कोरोना संक्रमण दर तीव्र रुपमा बढ्दै गइरहेको छ । शुक्रबार सार्वजनिक तथ्याँकअनुसार संक्रमण दर गएको तीन महिनायताकै उच्च कायम भएको छ । अघिल्लो हप्ताको तुलनामा संक्रमण दर ४९ प्रतिशतले बढेको छ ।

पछिल्लो २४ घन्टामा ६ हजार दुई सय ३८ जना नयाँ संक्रमित थपिएको ‘डिपार्टमेन्ट अफ हेल्थ एण्ड सोशल केयर’ ले जनाएको छ । दैनिक संक्रमण दर तीन हजार भन्दा कम रहँदै आएपनि पछिल्लो एक हप्तामा यो संख्या निरन्तर बढ्दै गएको छ ।

नयाँ संक्रमितसँगै बेलायतमा कोरोना संक्रमितको संख्या ४५ लाख छ हजार नाघेको छ ।

यसैगरी बितेको २४ घन्टामा ११ जना कोरोना संक्रमितको ज्यान गएको स्वास्थ्य विभागले जनाएको छ । हालसम्म बेलायतमा कोरोनाका कारण ज्यान गुमाउनेको संख्या एक लाख २७ हजार ८२३ पुगेको छ । गत मंगलबार बेलायतमा कोरोनाबाट मृत्यु हुने संख्या महामारी शुरु भएयता पहिलो पल्ट शून्यमा झरेको थियो ।

पछिल्लो तथ्याँकअनुसार बेलायतमा हालसम्म छ करोड ६७ लाख ४९ हजार ६३८ डोज खोप वितरण भइसकेको छ । जसमध्ये तीन करोड ९९ लाख ४९ हजार ६९४ जनाले पहिलो डोज र दुई करोड ६७ लाख ९९ हजार ९४४ जनाले दोस्रो डोज लगाएका छन् ।

प्रकाशित मितिः शनिबार, जेष्ठ २२, २०७८     12:53:46 PM  |