3 December 2021  |   शुक्रबार, मंसिर १७, २०७८

ओपिडी पुनः सञ्चालनमा

मिसनटुडे संवाददाता
प्रकाशित मितिः शनिबार, जेष्ठ २२, २०७८  

कोहलपुर ।

दोस्रो चरणको कोरोना संक्रमणका कारण बन्द रहेको नेपालगञ्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरले पुनः ओपिडी सेवा सञ्चालनमा ल्याउने भएको छ । भोली आइतबारदेखि शिक्षण अस्पताल कोहलपुरले कोरोनाको दोस्रो लहरयता बन्द रहेको आफ्नो ओपिडी सेवा सञ्चालनमा ल्याउने भएको हो ।

शुक्रबार नेपालगञ्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरका निर्देशक डा. भोजराज जोशीले एक सूचना जारी गरेर यस्तो जानकारी गराएका हुन् । उनका अनुसार अस्पतालले केही समय अघिबाट कोरोनाका बिरामीहरुको मात्र उपचार गर्नको लागि ओपिडी सेवा बन्द गरेर कोरोना डेडिकेडेट अस्पताल सञ्चालनमा ल्याएको थियो ।

पछिल्ला दिनहरुमा कोभिडका बिरामीहरुको चाप घट्दै गइरहेकोले अन्य रोगका बिरामीहरुको समेत उपचारको लागि भोलीदेखि अस्पतालले ओपिडी सञ्चालन गर्न गइरहेको हो । यसअघि कोरोना बाहेकका अन्य रोग लागेका बिरामीहरु उपचारका लागि भेरी अस्पताल नेपालगञ्ज जानुपर्ने बाध्यता थियो ।

‘आइतबारदेखि ओपीडी सेवा लगायतका कोभिड- नन कोभिड सम्पूर्ण सेवा सञ्चालन हुन्छ’ अस्पतालका निर्देशक जोशीले भने । नेपालगञ्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरले कोरोना संक्रमितको उपचारका लागि १ सय ३० वटा बेड छुट्याइएको थियो । तीमध्ये शुक्रबार साँझसम्म ५२ वटा बेड खाली भएका थिए । त्यहाँ रहेका ७८ जना बिरामीमध्ये ७० जना गम्भी रहेको स्वास्थ्य कार्यालय बाँकेका जनस्वास्थ्य अधिकृत नरेशबाबु श्रेष्ठले जानकारी दिए ।

प्रकाशित मितिः शनिबार, जेष्ठ २२, २०७८     7:59:30 AM  |