3 December 2021  |   शुक्रबार, मंसिर १७, २०७८

सीमित स्रोत साधनका बीच उष्कृष्ट सेवा

मिसनटुडे संवाददाता
प्रकाशित मितिः शनिबार, जेष्ठ २२, २०७८  

शिवु खनाल । दाङ ।

देउखुरी क्षेत्रमा सञ्चालनमा रहेका कोरोना विशेष अस्पतालले न्यून स्रोत साधनका बीच समेत उष्कृष्ट सेवा दिएका छन् । यस क्षेत्रका स्थानीय तहहरुले सञ्चालनमा ल्याएका कोरोना अस्पतालले सीमित स्रोत साधनका बीच समेत उष्कृष्ट सेवा दिएका हुन् । सर्वपक्षिय सर्वदलिय अनुगमन तथा समन्वय समितीले यस्तो निष्कर्ण निकालेको हो ।

देउखुरी क्षेत्रका कोरोना अस्पतालहरुको अनुगमन गरिदैं ।

शुक्रबार देउखुरी क्षेत्रमा सञ्चालनमा रहेका कोरोना अस्पतालहरुको राजनीतिक दल, विभिन्न सामाजिक संघसस्थाका प्रतिनिधि सहभागि रहेको सर्वपक्षिय सर्वदलिय अनुगमन तथा समन्वय समितीले अनुगमन गरेको थियो । स्थानीय तहबाट सञ्चालनमा आएका यहाँका कोरोना अस्पतालको व्यवस्थापन तथा जनशक्तीको अवस्था भने सन्तोषजनक नभएको पाइएको हो । सीमित श्रोत साधनमा उच्च मनोवलमा साथ स्वास्थ्यकर्मीले सेवा दिएको पाइएको समितीले जनाएको छ ।

देउखुरीका चारवटा पालिका लमही, राप्ती, गढवा र राजपुरमा रहेका कोरोना अस्पताल र स्वास्थ्य अवस्थाको अनुगमन गरिएको थियो । सो क्रममा स्थानीय सरकारबाट कोरोना नियन्त्रण तथा उपचारको लागि चालिएको प्रयासमा सन्तोष गर्ने अवस्था नभएको टोलीले निष्कर्ष निकालेको हो । स्वास्थ्यकर्मीले सीमित श्रोत साधनका बीच सक्दो सेवा दिलाउने प्रयासको गरिरहेको बताउँदै समितीले स्थानीय सरकारबाट कोरोना अस्पतालको लागि अझ धेरै व्यवस्थापन गर्न आवश्यक रहेको सुझाव दिएको छ ।

अनुगमनमा सहभागि नेकपा एमालेका क्षेत्रीय इन्चार्ज नारायण छम्पालीले स्थानीय सरकारबाट भएका प्रयास सन्तोष गर्ने ठाउँ अझै नभएपनि स्वास्थ्यकर्मीले सीमित श्रोत साधन नहुँदा समेत उच्च मनोवलले काम गरेको देखिएको जानकारी दिए । ‘यहाँ रहेका कोरोना अस्पतालमा सीमित स्रोत साधन मात्र रहेको पाइयो’ उनले भने, ‘तर त्यहाँ कार्यरत स्वास्थ्यकर्मीहरुले दिएको सेवालाई भने सलाम गर्नुपर्छ । स्वास्थ्यकर्मीहरुले उष्कृष्ट सेवा दिइरहनुभएको छ ।’

यस्तै नेपाली काँग्रेसका क्षेत्रीय सभापति भेषराज पाण्डेले लमहीमा स्थापना गरिएको देउखुरी स्तरीय कोरोना विशेष अस्पतालमा थप सेवा उपलब्ध गराउन आवश्यक रहेकोमा जोड दिएका छन् । ‘चार पालिकाका संक्रमित रिफर गर्ने अस्पताल यो रहेको छ’ उनले भने, ‘यहाँका स्रोत साधनमा कमी देखियो । अझै अस्पताललाई स्रोत साधनमा भरिपूर्ण बनाउनुपर्छ ।’ अनुगमनमा सहभागि नेकपा माओवादी केन्द्रका लमही नगर सचिव बसन्त शर्माले अनुगमनले सकारात्मक सन्देश दिएको भन्दै स्वास्थ्यकर्मीको मनोवल बढाउने गरी अपुग भएको विषयमा स्थानीय, प्रदेश र संघीय सरकारसँग समन्वय गरिने बताए ।

कोभिड बेड खाली, संक्रमित घट्दै

देउखुरीको राजपुर गाउँपालिकामा स्थापना गरिएको कोरोना अस्पतालमा रित्तो छ । संक्रमितले होम आइसोलेसनमा बस्न रुचाएका कारण र संक्रमतिको संख्या नै कम भएका कारण अस्पतालमा रहेका सबै बेड खाली भएका हुन् । ‘हामी सेवाको लागि तयार छांै, केही संक्रमित होम आइसोलेसनमा बस्नुभएको छ । यहाँ अस्पताल पुरै खाली छ’ राजपुर गाउँपालिका स्वास्थ्य शाखा प्रमुख कमल रोकायले भने ।

लमही नगरपालिकाले देउखुरी बहुमुखी क्याम्पसमा स्थापना गरेको आइसोलेसन केन्द्रमा एकजना पनि विरामी छैनन् । सक्रिय संक्रमितको संख्यामा कमी आएका कारण देउखुरी स्तरीय कोरोना विशेष अस्पतालमा पनि बेड खाली हुन थालेका छन् । २५ बेडको देउखुरी कोरोना विशेष अस्पतालमा १६ जना मात्र कोरोनाका विरामी रहेको बताइउको छ ।

यता जिल्ला स्वास्थ्य कार्यालय दाङका कोरोना फोकल पर्सन कमल चन्दले जिल्लामा अहिलेसम्म दाङमा १० हजार १ सय ४ जनाले कोरोना जितिसकेका छन् । शुक्रबारसम्म कोरोना संक्रमणका कारण जिल्लामा २ सय २५ जनाको मृत्यु भइसकेको उनले बताए । जिल्लामा ६ सय ४८ जना होम आइसोलेसनमा रहेको स्वास्थ्य कार्यालय दाङले जनाएको छ ।

प्रकाशित मितिः शनिबार, जेष्ठ २२, २०७८     7:56:01 AM  |