26 April 2024  |   शुक्रबार, बैशाख १४, २०८१

संसद अधिवेशन बोलाउने प्रतिबद्धता

मिसनटुडे संवाददाता
प्रकाशित मितिः शुक्रबार, जेष्ठ २१, २०७८  

सुर्खेत ।

कर्णाली प्रदेशसभामा प्रतिनिधित्व गर्ने दलहरुको दबाबपछि प्रदेश सरकार बजेट अधिवेशन बोलाउन तयार भएको छ । सभामुख राजबहादुर शाहीको आह्वानमा बिहीबार दिउँसो बसेको प्रदेश सर्वदलीय बैठकले प्रदेशसभाको वर्षे अधिवेशन अविलम्ब बोलाउन सरकारलाई आग्रह गरेको प्रदेशसभाका सचिव जीवराज बुढाथोकीले जानकारी दिए ।

बैठकमा सहभागी दलका नेताहरुले असार १ गतेभित्र प्रदेश सरकारले बजेट ल्याइसक्नुपर्ने संवैधानिक व्यवस्था रहको भन्दै मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई अविलम्ब अधिवेशन बोलाउन आग्रह गरेका थिए । दलहरुको आग्रहपछि मुख्यमन्त्री शाहीले जेठ २५ गतेभित्र बजेट अधिवेशन बोलाउने बताएको बैठकमा सहभागी एक नेताले बताए ।

‘अझै निषेधाज्ञा जारी नै छ, निषेधाज्ञाकै कारण देखाउँदै एमालेले बैठक अवरुद्ध गरेको थियो, अन्ततः अधिवेशन नै अन्त्य गर्नुप¥यो,’ ती नेताले भने, ‘अहिले प्रमुख प्रतिपक्षी एमालेले पनि अधिवेशन बोलाउन दबाब दिइरहेको छ । मुख्यमन्त्रीज्यूले पनि २५ गतेभित्र बोलाउने बताउनुभएको छ ।’ असार १ गते प्रदेश सरकारले बजेट ल्याउनुपर्ने संवैधानिक व्यवस्था छ ।

त्यसअघि नीति तथा कार्यक्रम र बजेटबारे छलफल गर्ने प्रचलन छ । सर्वदलीय बैठकमा मुख्यमन्त्री शाही, प्रमुख प्रतिपक्षी दल नेकपा एमाले प्रदेश संसदीय दलका नेता यामलाल कँडेल, कांग्रेस दलका नेता जीवनबहादुर शाही, राप्रपा सांसद शोसिला शाही र मन्त्रीहरु सहभागी थिए ।

प्रकाशित मितिः शुक्रबार, जेष्ठ २१, २०७८     8:00:28 AM  |