27 April 2024  |   शनिबार, बैशाख १५, २०८१

काठमाण्डाै उपत्यकामा एक महिना मेलम्चीकाे पानी वितरण नहुने

मिसनटुडे संवाददाता
प्रकाशित मितिः बिहिबार, जेष्ठ २०, २०७८  

काठमाण्डाै – काठमाण्डाै उपत्यकामा अब झन्डै एक महिना मेलम्चीको पानी वितरण नहुने भएको छ । सुरुङ पूरै खाली गरेर त्यसको निरीक्षण गर्न लागिएकाले पानी वितरण राेकिन लागेको हो ।

सुरुङ निरीक्षण गर्दा समस्या नदेखिएमा फेरि पानी ल्याउँदा ३० देखि ४० दिनसम्म लाग्न सक्ने मेलम्ची खानेपानी विकास समितिका सूचना अधिकारी राजेन्द्रप्रसाद पन्तले बताउनुभयो । उहाँका अनुसार पहिले पानी झर्ने दरमा नै खाली गर्दा १५ दिन लाग्ने देखिएको छ । त्यस्तै २७ किमी सुरुङको निरीक्षणका लागि १० दिन लाग्नेछ ।

दुई वर्ष पहिले चिनियाँ निर्माण कम्पनी सिनो हाइड्रोसँग ठेक्का सम्झौता हुँदा कार्यविधिमा सुरुङमा पानी भरेर फेरि खाली गराएर निरीक्षण गर्ने उल्लेख थियो । उहाँले भन्नुभयो, कार्यविधिमा अन्तिम काम नै सुरुङ खाली गर्ने हो, खाली गरेर समस्या नभएमा फेरि भरेपछि त्यो कार्ययोजना सफल हुन्छ ।

 

झन्डै तीन महिना पहिले पहिलो पटक मेलम्चीको पानी काठमाण्डाै ल्याइएको थियो । अहिले अन्य समस्या भने देखिएको छैन ।

आयोजनाको पहिलो चरणमा मेलम्चीबाट दैनिक १७ करोड लिटर पानी गत फागुनदेखि नै काठमाण्डाैमा आउन थालेको छ । समितिले आयोजनाअन्तर्गत २७ किमी लम्बाइको सुरुङ, ‘हेडवर्क’ र सुन्दरीजलमा दुई पानी प्रशोधन केन्द्रको निर्माण गरेको थियो । सुरुङ र केन्द्र सम्पन्न भइसके पनि ‘हेडवर्क’ को अन्तिम काम भइरहेको आयोजनाले जनाएको छ । सुरु भएको झन्डै दुई दशकपछि आयोजना सम्पन्न भएको हो । सरकारले समृद्ध नेपालका लागि यसलाई एक सफल आयोजनाका रूपमा लिएको छ ।

सरकारले मेलम्चीकै दोस्रो खण्डका रूपमा याङ्ग्री र लार्के खोलाबाट पानी ल्याउन आवश्यक पूर्वाधारको निर्माण अघि बढाउँदैछ । अहिले मेलम्चीबाट दैनिक १७ करोड लिटर पानी आउने गरेकामा दैनिक थप ३४ करोड लिटर पानी आउने गरी त्याे निर्माण अघि बढाउन लागिएको हो । सरकारले आउँदाे आवमा यस आयोजनाका लागि तीन अर्ब ५१ करोड रुपैयाँ विनियोजन गरेको छ ।साभार उज्यालो

प्रकाशित मितिः बिहिबार, जेष्ठ २०, २०७८     7:27:41 PM  |