16 April 2024  |   मङ्लबार, बैशाख ४, २०८१

बढी भाडा असुल्ने पक्राउ, यात्रुबाट तीन गुणा बढी भाडा असुली

मिसनटुडे संवाददाता
प्रकाशित मितिः बिहिबार, जेष्ठ २०, २०७८  

कोहलपुर ।

बाँकेको कोहलपुरबाट प्रहरीले यात्रुसँग तोकिएको भन्दा तीन गुणा बढी भाडा असुल्ने सवारी साधनलाई नियन्त्रणमा लिएको छ । ईलाका प्रहरी कार्यालय कोहलपुरबाट खटिएको विशेष टोलीले बुधबार तीन गुणा बढी भाडा लिने दुई सवारी साधनलाई नियन्त्रणमा लिएको हो ।

यात्रुसँग बढी भाडा असुल्ने एक बोलेरो जीप र एक फोर्स गाडी नियन्त्रणमा लिइएको ईलाका प्रहरी कार्यालय कोहलपुरका प्रमुख प्रहरी नायब उपरीक्षक रबिन्द्र खनालले जानकारी दिए । उनका अनुसार सुर्खेत जाँदै गरेको बा ५ ख ५९९६ नम्बर फोर्स गाडी र कोहलपुरबाट जाजरकोट जाँदै गरेको भे १ ज ९२९ नम्बरको बोलेरो जीप नियन्त्रणमा लिइएको थियो । नियन्त्रणमा लिइएका सवारी साधनले कोरोना रोकथाम तथा नियन्त्रणमा लागि जारी निषेधाज्ञाको समयमा सवारी पास दुरुपयोग समेत गरेको प्रहरीले जनाएको छ ।

‘निषेधाज्ञाको मौका छोपेर सवारी पासको दुरुपयोग गर्दै यात्रुबाट तीन गुणा भाडा लिएको देखियो’ प्रहरी नायब उपरीक्षक खनालले भने, ‘केही दिनयता कोहलपुर क्षेत्रमा तोकिएको भाडा भन्दा चार गुणासम्म यात्रुबाट रकम असुल्ने गरेको सूचनाको आधारमा प्रहरी परिचालन गरिएको थियो ।’ सोही आधारमा पुगेको प्रहरी टोलीले दुई सवारी साधनलाई नियन्त्रणमा लिएर कारबाही गरेको उनले बताए । बा ५ ख ५९९६ नम्बर फोर्स गाडीले सुर्खेत वीरेन्द्रनगरको भाडा ७ सय र छिन्चुसम्मको ४ सय रुपैयाँ असुल गरेको थियो ।

जबकी छिन्चुसम्मको १ सय ७० र वीरेन्द्रनगरसम्मको भाडा ३ सय रुपैयाँ रहेको थियो । त्यसैगरी भे १ ज ९२९ नम्बरको बोलेरो जीपले जाजरकोटसम्मको भाडा १ हजार ४ सय रुपैयाँ असुल गरेको ईलाका प्रहरी कार्यालय कोहलपुरले जनाएको छ । जबकी जाजरकोटसम्मको भाडा ६ सय रुपैयाँ मात्र रहेको थियो । दुवै सवारीका चालकलाई समेत नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ । पक्राउ पर्नेमा बा ५ ख ५९९६ नम्बर फोर्स गाडीका चालक प्रेम विक र भे १ ज ९२९ नम्बरको बोलेरो जीपका चालक मोहन विक रहेका छन् ।

प्रहरी दुवै सवारीका यात्रुहरुको पैसा फिर्ता गराएको थियो । ‘यातायात समितीभन्दा पनि अन्य विचौलियाको मिलोमतोमा यात्रु ठग्ने धन्दा चलेको पाइयो’ प्रहरी नायब उपरीक्षक खनालले भने, ‘तोकिएको भन्दा बढी भाडा कसैले लिएको पाइएमा प्रहरी खबर गर्न आग्रह गर्दछु ।’ ईलाका प्रहरी कार्यालय कोहलपुरले नियन्त्रणमा लिइएका सवारी साधनलाई आवश्यक कारबाहीको लागि जिल्ला ट्राफिक कार्यालय बाँके कोहलपुरमा बुझाएको जनाएको छ ।

जिल्ला जिल्ला ट्राफिक कार्यालय बाँके कोहलपुरका ईन्चार्ज ट्राफिक प्रहरी निरीक्षक राजु भण्डारीले दुवै सवारी साधनलाई एक÷एक हजार जरिवाना गरिएको जानकारी दिए । ‘पहिलोपटकमा हामीले दुवै सवारी साधनलाई एक÷एक हजार जरिवाना गरेर छोडेका छौं’ उनले भने, ‘यी बाहेक बुधबार निषेधाज्ञा नमान्ने ४० बढी सवारी साधनलाई दिनभर नियन्त्रणमा राखेर साँझपख जरिवाना गरेर छोडेका थियौं ।’ नेपाल प्रहरी र ट्राफिक प्रहरीले निषेधाज्ञा उल्लघंन गर्ने सवारी साधनलाई दिनभर नियन्त्रणमा लिएर जरिवाना गरेर छोड्ने गरेका छन् ।

प्रकाशित मितिः बिहिबार, जेष्ठ २०, २०७८     7:32:22 AM  |