29 November 2021  |   सोमवार, मंसिर १३, २०७८

बंगलादेशले पक्रियो ७० बाघ मारेको आरोप लागेका ‘टाइगर हबिब’ लाई

मिसनटुडे संवाददाता
प्रकाशित मितिः बुधबार, जेष्ठ १९, २०७८  

एजेन्सी ।

बंगलादेशको प्रहरीले २० वर्षदेखि ‘मोस्ट वान्टेड’ को सूचीमा रहेका एक व्यक्तिलाई पक्राउ गरेको छ। प्रहरीले मंगलबार ५० वर्षीय टाइगर हबिब उपनामले चिनिने हबिब तालुकदरलाई पक्रिएको हो।

हबिबमाथि लोपोन्मुख अवस्थामा रहेको रोयल बंगाल टाइगर्सको शिकारी र चोरी निकासी गरेको अभियोग छ। उनले ७० वटा बाघ मारेको आरोपमा प्रहरीले खोजिरहेको थियो।

हबिब भारत र बंगलादेशको सीमा जोडिएको सुन्दरबनको आसपासमा बस्थे र प्रहरीले छापा हान्दा भाग्न सफल हुन्थे। उक्त बनक्षेत्र रोयल बंगाल टाइगर्सको प्रमुख वासस्थान हो। यो प्रजातिका बाघ पौडी खेल्न सिपालु हुन्छन्।

हबिबले सुरूमा जंगलमा मह निकाल्ने काम गरेका थिए। हुँदाहुँदै उनी बाघ शिकारी बने। ‘हामी उनलाई निकै सम्मान गर्छौं र डराउँछौं पनि,’ स्थानीय एक मह शिकारी अब्दुस सलामले भने,‘उनी जंगलभित्र बाघसँग एक्लै लड्न सक्ने खतरनाक मान्छे हुन्।’

हबिबले बाघको शिकार गरेर दाह्रा, छालालगायत अंग चीनको ब्ल्याक मार्केटमा बेच्ने व्यापारीलाई दिने गरेका थिए।

बंगलादेशको बन विभागका अनुसार सन् २००४ मा बाघको संख्या ४४० थियो तर सन् २०१५ मा आइपुग्दा त्यो संख्या घटेर १०६ मा पुगेको थियो।

सरकारले चोरी शिकारीमाथि कडा कदम चाल्न थालेपछि सन् २०१९मा आइपुग्दा बंगलादेशमा बंगाल टाइगर्सको संख्या ११४ पुगेको छ।

क्षेत्रीय वन संरक्षण अधिकृत मैनुद्दिन खानले हबिब पक्राउ परेपछि आफूहरूले राहतको सास फेरेको बताए।

‘उनी हाम्रा लागि टाउको दु:खाइको विषय थिए। उनका कारणले यहाँको बनको जैविक विविधतामा उनीबाट ठूलो खतरा थियो,’ खानले भने।

प्रकाशित मितिः बुधबार, जेष्ठ १९, २०७८     3:48:56 PM  |