20 April 2024  |   शनिबार, बैशाख ८, २०८१

कोभिडबाट मृतक पत्रकारका परिवारलाई काउन्सिलको सहयोग

मिसनटुडे संवाददाता
प्रकाशित मितिः बुधबार, जेष्ठ १९, २०७८  

काठमाडौँ,  जेठ (रासस)  प्रेस काउन्सिल नेपालले कोभिड–१९ को दोस्रो लहरको सङ्क्रमणबाट अति प्रभावित नौ पत्रकार र परिवारलाई सहयोग उपलब्ध गराएको छ । काउन्सिलको मिडिया विकास कोष उपसमितिको यही जेठ १४ गतेको बैठकले कोरोना सङ्क्रमण भई भेन्टिलेटर÷आइसियुमा उपचाररत छ पत्रकार र कोरोना सङ्क्रमणबाट ज्यान गुमाएका तीन पत्रकारका परिवारलाई सहयोग उपलब्ध गराउने निर्णय गरेको थियो । काउन्सिलले तत्कालका लागि जनही रु. २५ हजारका दरले सहयोग उपलब्ध गराएको हो ।

भेन्टिलेटरमा उपचाररत धादिङका पत्रकार सुमन अधिकारी, दोलखाका रविन्द्र गौतम (जेठ १६ गते निधन भएको) र रोल्पाका मौसम रोका मगरलाई यस्तै आइसीयुमा उपचाररत मुस्ताङका पत्रकार चन्द्रेश्वर बस्ताकोटी, भोजपुरका सन्देश राई र काठमाडौँका हस्त गुरुङलाई सहयोग प्रदान गरिएको काउन्सिलका प्रमुख प्रशासकीय अधिकृत झविन्द्र भुसालले जानकारी दिनुभयो । भुसालका अनुसार मृतक पत्रकार मुगुका सुमन मल्ल, पाँचथरका एकराज भण्डारी र कास्कीका गणेश पौडेलका परिवारलाई सहयोग उपलब्ध गराइएको छ ।

यसअघि कोभिड–१९ को असरबाट प्रभावित ४५ जना पत्रकारलाई लेखनवृद्धि एवं इन्टरनेट सुविधावापत सहयोग प्रदान गरिएको थियो ।

प्रकाशित मितिः बुधबार, जेष्ठ १९, २०७८     1:30:31 AM  |