स्वास्थ्य सामग्री हस्तान्तरण



भक्तपुर, जेठ (रासस)  मध्यपुरथिमि नगरपालिकाद्वारा सञ्चालित नेपाल कोरिया मैत्री नगरपालिका अस्पताललाई ६३ अक्सिजन कन्सेन्टरेटर प्रदान गरिएको छ । आज अस्पतालमा आयोजित कार्यक्रममा अस्पताल व्यवस्थापन समितिका अध्यक्ष एवं नगरप्रमुख मदनसुन्दर श्रेष्ठलाई इन्गेज नेपालका डा दिबेश कर्माचार्यले ती अत्यावश्यक स्वास्थ्य सामग्री प्रदान गर्नुभएको हो ।

संस्थाका डा कर्माचार्यको समन्वय नेपालका लागि पूर्व अमेरिकाका राजदुत स्टक डेलिसि मार्फत् १० लि को ७५ लाख रूपैंयाँ बराबरको ती हाइपर्फमेन्स् अक्सिजन कन्सेन्टरेटर अस्पतालाई हस्तान्तरण गरेको नगरप्रमुख श्रेष्ठले जानकारी दिनुभयो ।

उहाँले नगरपालिको आफैले सञ्चालनमा ल्याएको दैनिक ३० सिलिण्डर अक्सिजन उत्पादन हुने प्लान्ट र दाताबाट आएको अक्सिजन कन्सेन्टरेटरले बिरामीको उपचारमा थप सहयोग पुग्ने बताउनुभयो ।

त्यसैगरी अस्पतालका लागि ‘वन लभ वन वल्र्ड’ नामको संस्थाले पाँच ह्विल चियर ,तीन निबुलाइजर मेसिन, पाँच अक्सिमिटर , ५०० पञ्जा, नौ आईभि स्ट्याण्ड, पाँच कम्बोड , २५ वेडसिट २५ थ, दुई तौल मेसिन , पाँच युरिनल, पाँच वेडप्यान, बाल्टिन, तकियालगायतका सामाग्री संस्थाका निर्देशक ऋतु श्रेष्ठले नगर प्रमुख श्रेष्ठलाई हस्तान्तरण
गर्नुभएको छ ।

त्यस्तै अस्पताललाई यहाँका चार सहकारी संस्थाले चार लाख ५९ हजार ९५० रूपैंयाँमा बराबरको पेसेन्ट मनिटर प्रदान गरेका छन् । अस्पतालमा आईसियू तथा भेन्टिलेटरमा रहेका बिरामीका लागि बाबा बचत तथा ऋण सहकारीका अध्यक्ष ज्ञानराम श्रेष्ठ, शुभश्री बचत तथा ऋण सहकारीका अध्यक्ष ज्ञानकृष्ण श्रेष्ठ, उपकार बचत तथा ऋण सहकारीका अध्यक्ष कान्छाभक्त घजु र नवआदर्श बचत तथा ऋण सहकारीका अध्यक्ष राकेश श्रेष्ठले सहकारीको बजेटमा खरिद गरी हस्तान्तरण गर्नुभएको हो ।

नेपाल रेडक्रस सोसाईटी भक्तपुर शाखाले पाँच हजार मास्क, स्यानिटाइजर, हाइजिन किटलगायतका सामग्री सहयोग गरेको छ । च्याउँ कृषक आकाश बाँडेले अस्पतालमा उपचाररत् र नगरपालिकाले सञ्चालन गरेकोे बोडेको आइसोलेसनमा रहेको सङ्क्रमितका लागि रातो च्याउँको सुपको धूलो पर्याप्त वितरण गरेको छ । त्यस्तै कोरिया सहयोग नियोग कोइकाले डा. किम मार्फत २०० थान पिपिइ, मास्क, पन्जा, हेड कभर लगायत स्वास्थ्य सामग्रीहरू हस्तान्तरण गरेको छ ।

  • No tags available
प्रकाशित मिति : २०७८ जेठ १९ गते बुधबार