19 April 2024  |   शुक्रबार, बैशाख ७, २०८१

भेरीमा स्वास्थ्यकर्मी कुटपिट प्रकरण, बुझाइयो छानविन प्रतिवेदन

मिसनटुडे संवाददाता
प्रकाशित मितिः बुधबार, जेष्ठ १९, २०७८  

नेपालगञ्ज ।

आफन्तको मृत्युपछि नेपालगञ्जस्थित भेरी अस्पतालमा चिकित्सक र नर्सलाई हातपात तथा आइसीयू तोडफोड गरेको घटना छानबिन गर्न गठित समितिले प्रतिवेदन बुझाएको छ । समितिले सोमबार साँझ बाँकेका प्रमुख जिल्ला अधिकारी शिवराम गेलाललाई प्रतिवेदन बुझाएको थियो ।

गत बिहीबार भेरी अस्पतालको कोभिड आइसीयूमा उपचाररत दाङका संक्रमितको मृत्यु भएपछि उनका आफन्तले प्रधानमन्त्री र मुख्यमन्त्रीको पावर देखाउँदै चिकित्सक र नर्सलाई हातपात गर्नुका साथै घाँटी थिचेका थिए ।आफू एमालेका नेता भएको भन्दै उनीहरुले राजनीतिक पावरको बलमा स्वास्थ्यकर्मीसँग मृत्युको बदला लिने धम्की पनि दिएका थिए ।

आइसीयूमा खटिएका नर्सको घाँटी थिच्न आएपछि नर्स र डाक्टरले ट्वाइलेको झ्यालबाट हाम फालेर ज्यान जोगाएका थिए । उक्त घटना भएको भोलिपल्ट घटनाका सम्बन्धनमा छानबिन गरी तीन दिन भित्र प्रतिवेदन बुझाउन बाँकेका सहायक प्रमुख जिल्ला अधिकारी शंकरबहादुर विष्टको संयोकत्वमा जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी नायब प्रहरी उपरीक्षक, अस्पताल विकास समितिका सदस्य कृष्ण प्रसाद श्रेष्ठ, बाँके नर्सिङ संघकी अध्यक्ष लक्ष्मी केसी ओली, चिकित्सक संघका अध्यक्ष डाक्टर विनोद कर्ण, धनराम ओली, डाक्टर रमण किदवाई र सरकारी वकिल कार्यालयको तर्फबाट शान्तिविक्रम शाह सदस्य रहेको समिति गठन गरिएको थियो ।

उक्त समितिले प्रमुख जिल्ला अधिकारीलाई प्रतिवेदन बुझाएको हो । भेरी अस्पताल विकास समितिका सदस्य श्रेष्ठले घटना विवरण र सुझावसहितको प्रतिवेदन सोमबार साँझ प्रमुख जिल्ला अधिकारी गेलाललाई बुझाएको जानकारी दिए । उनले भने, ‘हामीले सम्बन्धित सबै पक्षसँग कुराकानी गरेका छौँ । अस्पतालमा रहेको सीसी क्यामेराका फुटेज, अस्पतालका विभिन्न विभागका व्यक्तिहरु, घटनाका प्रत्यक्षदर्शी, पीडित डाक्टर, नर्स र आक्रमणमा संलग्न व्यक्तिहरूलाई समेत सोधपुछ गरी प्रतिवेदन तयार गरी बुझाएका छौँ ।’

उनले दोषीलाई कुनै पनि हालतमा कारबाही हुने बताउँदै उक्त प्रतिवेदन प्रमुख जिल्ला अधिकारीले अध्ययन गरेपछि अदालतमा जाने जानकारी दिए । प्रजिअ गेलालले प्रतिवेदन प्राप्त भएको र त्यसको अध्ययन गरेर आवश्यक कदम चाल्ने बताए । उनले प्रतिबेदनमा आएका बिषयलाई कानून बमोजिम कार्यान्वयन हुने बताउँदै छिट्टै कानूनी प्रक्रिया सुरु गरिने दाबी गरे । भेरी अस्पताल घटनाका लागि तयार भएको प्रतिबेदन ३० पानाको रहेको छ ।

समितिका एक सदस्यले भने, ‘भेरी अस्पतालको घटनामा संलग्न एमाले नेता मानबहादुर रावत, भरत रावत र लोकराज रावतलाई दोषी ठहराउँदै कारबाहीका लागि सुझाव समेत दिएको छ ।’

यस्तै समिती सदस्य तथा नेपाल नर्सिङ संघ बाँकेकी अध्यक्ष लक्ष्मी केसी ओलीले अस्पतालजस्तो संवेदनशिल क्षेत्रमा चिकित्सक र स्टाफ नर्स लगायतमाथि भएको सांघातिक आक्रमण पुनः दोहोरिन नदिन दोषिलाई हदैसम्मको कडा कारबाही गरिनुपर्ने बताइन् । ‘समितीले घटनाको निष्पक्ष छानविन गरि प्रतिबेदन सिडिओ समक्ष पेश गरेको छ ।

अब दोषीलाई कारबाही हुनेमा हामी ढुक्क छौं,’ उनले भनिन्, ‘समितीले पेश गरेको सुझाव सहितको प्रतिबेदन अक्षरस पालना भए दोषीलाई कारबाही हुनुका साथै आगामी दिन यस्ता घटना दोहरिदंैन ।’ भेरी अस्पतालमा भएको घटनाका दोषीलाई कारबाहीका लागि संघले लुम्बिनी प्रदेश सरकार, स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, महिला आयोग र राष्ट्रपति समक्ष ध्यानाकर्षण पत्र समेत पेश गरिसकेको छ ।

सो घटनापछि चिकित्सक, नर्स तथा स्वास्थ्यकर्मीहरुले दोषीलाई कडा कारबाहीको माग राख्दै स्वास्थ्य संस्था सुरक्षा ऐन र जेल विथ आउट वेलको व्यवस्था गर्नुपर्ने माग राख्दै आन्दोलन गरिरहेका छन् ।

प्रकाशित मितिः बुधबार, जेष्ठ १९, २०७८     6:30:26 AM  |