छोराको हत्या भएको ५ महिनामै एमाले नेता डम्बरको कोरोनाबाट मृत्यु



नेपालगञ्ज ।

नेकपा एमाले बाँकेका नेता डम्बर थापाको कोरोना भाइरसको संक्रमणका कारण मृत्यु भएको छ ।

एमाले, बाँकेका सचिवालय सदस्य एवं डुडुवा गाउँ कमिटीका इन्चार्ज थापाको सोमबार दिउँसो सवा दुई बजे नेपालगञ्ज मेडिकल कलेजमा उपचारकै क्रममा मृत्यु भएको हो । वैशाख २५ गते पीसीआर जाँच गरेपछि थापा नेपालगञ्ज मेडिकल कलेजमा उपचारका लागि भर्ना भएका थिए ।

युवा संघ, बाँकेका पूर्व अध्यक्षसमेत रहेका थापाको मृत्युले पार्टीले एउटा अभिभावक गुमाएको एमाले, बाँकेका अध्यक्ष सूर्य ढकालले जानकारी दिए ।

‘थापाको स्वास्थ्य समस्या देखिएपछि अस्पतालमा भर्ना गरिएको थियो’ उनले भने, ‘कोरोना संक्रमणबाट उहाँको सोमबार दिउँसो मृत्यु भयो । पार्टीले मात्र नभएर बाँकेले नै एउटा अभिभावक गुमाएको छ ।

नेता थापाको सोमबार नै मानखोलामा अन्तिम दाहसंस्कार गरिएको पारिवारिक स्रोतले जनाएको छ । नेपालगञ्ज उपमहानगरपालिका– १८ कारकाँदो निवासी ५० वर्षका थापा पुत्र शोकको पिडामा थिए ।

थापाका एकमात्र छोराको गत माघ २ गते बिहान हत्या गरेको अवस्थामा घर नजिकैको खेतमा शव भेटिएको थियो । छोरा प्रविण राष्ट्रिय अनुसन्धान विभाग बाँकेमा सहायक सुचक पदमा कार्यरत थिए ।

  • No tags available
प्रकाशित मिति : २०७८ जेठ १८ गते मंगलबार