16 May 2024  |   बिहिबार, जेष्ठ ३, २०८१

फेरि बर्दियामा पाटे बाघको आक्रमण सुरु: मधुवनमा एक महिलाको मृत्यु

मिसनटुडे संवाददाता
प्रकाशित मितिः मङ्लबार, जेष्ठ १८, २०७८  

बर्दिया ।

बर्दियामा पाटे बाघको आक्रमणबाट फेरि एक महिलाको ज्यान गएको छ । जिल्लाको मधुवन नगरपालिका– ५ शान्तिपुरकी ६६ वर्षीय नन्दकला थापा क्षेत्रीको बाघको आक्रमणबाट ज्यान गएको हो ।

उनलाई सोमबार दिउसो शान्तिपुरको ९ नम्बर गाउँ नजिकै राष्ट्रिय वन क्षेत्र अन्तरगत नेपाल भारत सीमा नजिकै सामुदायिक वनमा बाघले आक्रमण गरेको डिभिजन वन कार्यालय बर्दियाका सहायक वन अधिकृत दोर्ण शर्माले जानकारी दिए ।

डिभिजन वन र प्रहरीको टोली घटनास्थल पुगेको र मृतक महिलाको शव प्रहरीले फेला पारिसकेको जनाइएको छ । दिउँसै बाघको आक्रमणबाट महिलाको ज्यान लिएपछि त्यस क्षेत्रका स्थानीय त्रसित बनेका छन् ।

केही दिनअघि मात्र मधुवन क्षेत्रमा नै बाख्रा चराउन गएका एक वृद्धलाई पाटेबाघले आक्रमण गर्दा घाइते भएका थिए ।

उनीबेला वृद्धले आफुसँग भएको हसियाँले बाघलाई हानेर घाइते बनाएपछि बाघ जंगलतीर लागेको थियो ।

फेरि सोही क्षेत्रमा पाटेबाघको आक्रमणमा परेर एक महिलाले ज्यान गुमाएकी हुन् । फेरि जिल्लामा पाटेबाघको आक्रमण बढ्न थालेपछि सर्तकता अपनाउन आग्रह गरिएको डिभिजन वन कार्यालय बर्दियाले जनाएको छ ।

प्रकाशित मितिः मङ्लबार, जेष्ठ १८, २०७८     12:01:41 PM  |