बाँकेमा थपियो निषेधाज्ञा



कोहलपुर ।

बाँकेमा बैशाख १३ गतेदेखि जारी निषेधाज्ञाको अवधि एक साता थप गरिएको छ । पछिल्लो पटक थपिएको निषेधाज्ञाको अवधि सोमबार रातीदेखि सकिदै थियो । सोमबार नै बाँकेका प्रमुख जिल्ला अधिकारी शिवराम गेलालले निषेधाज्ञा एक साता बढाइएको आदेश जारी गरेका हुन् ।

आइतबार भएको जिल्ला कोभिड व्यवस्थापन समिती बाँकेको बैठकले निषेधाज्ञा एक साता थप गर्नको लागि बाँकेका प्रमुख जिल्ला अधिकारीलाई सिफारिस गर्ने निर्णय गरेको थियो । सोही अनुसार प्रमुख जिल्ला अधिकारी गेलालले सोमबार एक साता निषेधाज्ञाको अवधिको थपिएको आदेश जारी गरेका हुन् । जारी गरिएको निषेधाज्ञा जेठ २४ गते राती १२ बजेसम्म लम्बिएको हो ।

बैशाख १३ गतेदेखि जारी निषेधाज्ञालाई पछिल्लो पटक जेठ १७ गतेसम्म निरन्तरता दिइएकोमा अब जेठ २४ गते राति १२ बजेसम्म लम्ब्याइएको जारी आदेशमा उल्लेख गरिएको छ । बाँकेका प्रमुख जिल्ला अधिकारी गेलालले जिल्लामा कोभिड–१९ संक्रमणको जोखिम कायमै रहेकाले निषेधाज्ञा थप एक साता बढाइएको जानकारी दिए । नेपालगञ्ज उप–महानगरपालिकामा भने बैशाख ८ गते राति १२ बजेदेखि नै निषेधाज्ञा लगाइएको थियो ।

यो अवधिमा अत्यावश्यक सेवा र सोका लागि प्रयोग हुने सवारी साधन बाहेक अन्य सबै प्रकारका सेवा निषेध गरिएको जिल्ला प्रशासन कार्यालय बाँकेले जनाएको छ । पसल व्यवसाय सञ्चालन, सवारी साधन र अत्यावश्यक काम बाहेकको हिँडडुलमा पनि निषेध गरिएको छ ।

स्वास्थ्य, शान्ति सुरक्षा, विद्युत, दुरसञ्चार, खानेपानी, फोहरमैला व्यवस्थापन, ग्यास, पेट्रोलियम पदार्थ, तरकारी, खाद्य तथा दुग्ध पदार्थ, औषधी पसल, बैंक तथा बीमा जस्ता अत्यावश्यक सेवाहरु कृषि कार्य, बीउबिजन तथा बिषादी र कृषि औजार बिक्री वितरण, सार्वजनिक निर्माण कार्य सञ्चालन गर्न पाइनेछ ।

तर जनस्वास्थ्यका मापदण्ड पालना भने अनिवार्य रुपमा गर्नुपर्नेछ । बैंक तथा बिमा, बीउ विजन, कृषि औजार, बिषादीका पसल, निर्माण सामग्री पाइने पसल सिमित भने स्वास्थ्य मापदण्ड अपनाएर खोल्न पाइनेछ । दैनिक उपभोग्य बस्तु खरिदका भने प्रशासनले खुकुलो रणनिती अपनाएको छ । अब दैनिक उपभोग्य बस्तु खरिदका लागि बिहान ७ देखि १२ बजेसम्म स्वास्थ्य सुरक्षाको मापदण्ड पालना गरेर पसल सञ्चालन गर्न पाइनेछ ।

बाँके प्रशासन स्रोत अनुसार निषेधाज्ञामा समेत दिनमा केही घण्टामा खुकुलो गर्ने रणनिती अख्तियार गरिएको छ । सोहीलाई हेरेर आगामी दिनहरुमा निषेधाज्ञा हटाउँने वा अझै लगाउने भन्नेबारे निर्णय हुने बताइएको छ । आदेशको अवज्ञा वा अवहेलना गर्ने वा काममा बाधा पु¥याउँने व्यक्तिलाई प्रचलित कानून बमोजिम कारबाही गरिने प्रमुख जिल्ला अधिकारी गेलालले जारीको गरेको आदेशमा उल्लेख गरिएको छ ।

  • No tags available
प्रकाशित मिति : २०७८ जेठ १८ गते मंगलबार