8 December 2021  |   बिहिबार, मंसिर २३, २०७८

बल्ल-बल्ल ज्यान जोगाएका स्वास्थ्यकर्मी भन्छन्, ‘हामीले जस्तो त्रास कसैले भोग्नु नपरोस्’

मिसनटुडे संवाददाता
प्रकाशित मितिः सोमवार, जेष्ठ १७, २०७८  

कोहलपुर ।

गत बिहीबार राति बिरामीका कुरुवाको आक्रमण र कुटपिटबाट घाइते भएका भेरी अस्पतालका नर्स र चिकित्सकले आफूहरूले भोगेजस्तो त्रास कसैले पनि भोग्नु नपरोस् भन्ने कामना गरेका छन् ।

त्यो घटना सम्झनेबित्तिकै अझै पनि हात खुट्टा काम्ने र पसिना आउने गरेको उनीहरूको भनाइ छ ।

गत बिहीबार राति दाङ तुलसीपुरका कोरोना सङ्क्रमित डिल्ली रावतको उपचारमा खटिएकी भेरी अस्पतालकी स्टाफ नर्स सदीक्षा गैरेले कुरुवाले घाँटी थिचेपछि बाँच्ने आशा मरेको सुनाउँदै त्यस्तो त्रास कसैले पनि भोग्नु नपरोस् भनिन् । रावतको मृत्युपछि सत्तारूढ एमालेका प्रदेश नेताको नेतृत्वमा स्वास्थ्यकर्मीमाथि भएको आक्रमण भएको थियो ।

रावतको मृत्युपछि सत्तारूढ एमाले लुम्बिनी प्रदेश कमिटीका सदस्य उनका भाइ मानबहादुर रावत र छोराहरू भरत रावत तथा लोकराज रावत लगायतले कोभिड वार्डमा ड्युटीमा रहेकै बेला चिकित्सक डा। चन्द्रप्रकाश साहु, नर्सहरू सदीक्षा गैरे, अश्विन गुरुङ र बन्दना श्रेष्ठमाथि आक्रमण गरेका थिए ।

‘भीआइपी उपचार गराउन आए भने झन् तनाव हुन्छ,’ नर्स गैरेले अस्पतालमा आक्रमण भएको त्रासदीपूणर् घटना सम्झँदै भनेकी छिन्, ‘आफ्नो पेशाप्रति म सधैं इमानदार थिएँ । तर बिहीबार रातिको त्यो त्रासदीपूणर् घटनाले रातभर निदाउनै सकिनँ । सम्झिँदा पनि यो पेसामा किन लागेछु भन्ने कुरा बारम्बार मनमा आइरहन्छ ।’

आफूहरूले आफ्नो ज्यानको पर्वाह नगरी रावतलाई बचाउने हरप्रयास गरेको भए पनि आक्रमण हुँदा साहै्र चित्त दुखेको आक्रमणमा परेका चिकित्सक डा.चन्द्रप्रकाश साहुले बताए । उनले भने, ‘त्यो कालो रातले अझै तर्साइरहेको छ ।’

यसैगरी, कुटपिट र आक्रमणमा परेकी अर्की नर्स अश्विन गुरुङले आफूले त ज्यानको माया नै मारेको बताउँदै त्यो समय सम्झेर अझै पनि हातखुट्टा काम्ने गरेको बताइन् ।

गत बिहीबार राति दाङ तुलसीपुरका कोरोना सङ्क्रमित रावतको उपचारका क्रममा भेरी अस्पतालमा निधन भएपछि उनका आफन्तले अस्पतालमा तोडफोड गर्नुका साथै नर्स र चिकित्सकमाथि साङ्घातिक आक्रमण गरेका थिए ।

स्वास्थ्यकर्मीको आन्दोलनपछि घटनामा संलग्न तुलसीपुर उपमहानगरपालिका-११ उरहरीका मानबहादुर रावत, भरत रावत र लोकराज रावतलाई प्रहरीले पक्राउ गरेर ज्यान मार्ने उद्योगमा मुद्दामा अनुसन्धान गरिहेको छ ।

प्रकाशित मितिः सोमवार, जेष्ठ १७, २०७८     1:21:33 PM  |