27 April 2024  |   शनिबार, बैशाख १५, २०८१

बाँकेमा घट्दैछ संक्रमण, खाली हुँदै अस्पतालमा शैय्या

मिसनटुडे संवाददाता
प्रकाशित मितिः सोमवार, जेष्ठ १७, २०७८  

नेपालगञ्ज ।

कोरोनाको दोस्रो लहरमा सुरुमै हटस्पट बनेको बाँकेमा हाल नयाँ सङ्क्रमित थपिने क्रम ह्वात्तै घटेको छ । नयाँ सङ्क्रमित थपिने क्रम घट्दै गएपछि कोभिड बिरामीको उपचार गरिरहेका जिल्लाका विभिन्न अस्पतालमा बिरामी थपिने क्रम पनि कम हुँदै गएको छ ।

शनिबार जिल्लामा १२ जना मात्रै नयाँ सङ्क्रमित थपिएको जिल्ला कोभिड-१९ सङ्कट व्यवस्थापन केन्द्र (डिसिसिएमसी) बाँकेका कोरोना फोकल पर्सन तेज ओलीले बताए । पछिल्लो समयमा नयाँ सङ्क्रमित थपिनेभन्दा निको हुनेको सङ्ख्या धेरै रहेको उनले बताए ।

यसैबीच उपचारका लागि सबैभन्दा बढी सङ्क्रमित पुग्ने गरेको भेरी अस्पतालमा आकस्मिक उपचारका लागि आउनेको सङ्ख्या ह्वात्तै घटेको अस्पतालले जनाएको छ । अस्पतालका प्रमुख डा.प्रकाश थापाले उपचारका लागि आउनेको सङ्ख्या घटेको बताए ।

उनले शनिबारदेखि भेरी अस्पतालको आकस्मिक कक्ष करिब-करिब खाली रहेको बताए । उनले एक साता अघिसम्म सङ्क्रमितको चापले आपतकालीन कक्षमा समेत खुट्टा राख्ने ठाउँ नरहेकोमा हाल आएर खाली भएको बताए । पछिल्लो समयमा आएर बाँकेका सङ्क्रमितको मृत्यु हुने क्रम पनि धेरै कम भएको डा.थापाले बताए ।

सङ्क्रमित थपिने क्रम घटेको र निको भएर घर फर्किने क्रम बढेकाले हाल जिल्लाका विभिन्न अस्पतालमा ७० वटा कोभिड शैय्यासहित केही आइसीयू शैय्यासमेत खाली रहेको जनस्वास्थ्य अधिकृत नरेश श्रेष्ठले बताए ।

नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरमा पनि सङ्क्रमितको सङ्ख्या तीव्ररूपमा घट्दै गएको कलेजका सहनिर्देशक डा.रोमन किदवाईले बताए ।

बाँकेमा आइतबार १२ जना मात्रै कोरोना संक्रमित थपिएका छन् । जुन जम्मा परिक्षणको २४.५ प्रतिशत हो । आइतबार नै २४० जना डिष्चार्ज भएका छन् । हालसम्म बाँकेमा १७ हजार २२ जना संक्रमित भएका छन् ।

तीमध्ये १५ हजार ८७८ जना निको भई डिष्चार्ज भएका छन् । संक्रमितमध्ये २८९ जनाको मृत्यु भएको छ । जिल्लामा ८०० जना सक्रिय संक्रमित रहँदा ३१४ जना अस्पताल र आइसोलेसनमा छन् भने ८५६ जना होम आइसोलेसनमा छन् ।

प्रकाशित मितिः सोमवार, जेष्ठ १७, २०७८     12:11:02 PM  |