4 December 2021  |   शनिबार, मंसिर १८, २०७८

आज राष्ट्रिय सभा उपनिर्वाचन

मिसनटुडे संवाददाता
प्रकाशित मितिः सोमवार, जेष्ठ १७, २०७८  

कोहलपुर । आज सोमबार लुम्बिनी प्रदेशमा राष्ट्रिय सभा सदस्यको लागि उपनिर्वाचन हुने भएको छ । उपनिर्वाचनमा जनता समाजवादी पार्टी (जसपा) का चार सांसदले मतदान गर्न पाउने भएका छन् । निर्वाचन आयोगले मतदान हुनु एक दिनअघि आईतबार उक्त निर्णय गरेको थियो ।

प्रदेश निर्वाचन कार्यालय लुम्बिनी प्रदेशले सूचना प्रकाशित गर्दै यसअघि सूचीमा नपरेका जसपाबाट मन्त्री रहेका सन्तोषकुमार पाण्डे, विजयबहादुर यादव, कल्पना पाण्डे र सुमन शर्मालाई पुरक मतदाता नामावलीमा समावेश गर्ने जानकारी दिएको हो । योसँगै उनीहरुले मतदान गर्न पाउने भएका हुन् । माओवादी केन्द्र परित्याग गरेर एमालेमा प्रवेश गरेका चन्द्रबहादुर खड्का कारबाहीमा परेका थिए । खड्काको रिक्त स्थानमा लुम्बिनी प्रदेशमा राष्ट्रिय सभा सदस्यका लागि आज उपनिर्वाचन हुन गइरहेको हो ।

एमालेले खड्कालाई नै उम्मेदवार बनाएको छ । पदमुक्त भएका खड्कासँग दल त्याग गरेकै उम्मेदवार भिड्दै छन् । उनका प्रतिस्पर्धी विपक्षी गठबन्धनका दृगनारायण पाण्डे छन् । एमाले सांसद पाण्डे वैशाख १९ मा लुम्बिनी प्रदेश सभा सदस्यबाट राजीनामा दिएर कांग्रेस प्रवेश गरेका थिए । चारजना सांसदको नामावली समावेश भएसँगै प्रदेश सभाबाट मतदाता ८३ पुगेका छन् । स्थानीय तहका प्रमुख/उपप्रमुख र अध्यक्ष/उपाध्यक्ष गरी २१७ मतदाता छन् ।

विपक्षी दलको साझा उम्मेदवार बनेका कांग्रेसका पाण्डेले जित निकाल्ने देखिएको छ । उनलाई कांग्रेस, माओवादी केन्द्र, जसपा (उपेन्द्र पक्ष),माधव नेपाल पक्ष र जनमोर्चाबाट मत प्राप्त हुने पक्का रहेको छ । विपक्षी गठबन्धनका पाण्डे स्थानीय तहका मतदाताबाट विजयी हुने निश्चित देखिएको हो । दाङको घोराहीमा आज मतदान हुने जिल्ला निर्वाचन कार्यालय दाङले जनाएको छ ।

प्रकाशित मितिः सोमवार, जेष्ठ १७, २०७८     8:00:01 AM  |