26 April 2024  |   शुक्रबार, बैशाख १४, २०८१

सिलाईकटाई मेसिन सहयोग

मिसनटुडे संवाददाता
प्रकाशित मितिः सोमवार, जेष्ठ १७, २०७८  

नेपालगञ्ज ।

बाँकेको नेपालगञ्ज उप–महानगरपालिकाले तेश्रो राष्ट्रिय महिला अधिकार दिवस विविध कार्यक्रमसहित मनाएको छ । दिवसको अवसरमा हिमानी कोषको सहयोगमा ११ जनालाई सिलाईकटाई मेसिन उपलब्ध गराइएको थियो । नेपालगञ्ज उप–महानगरपालिकाले सञ्चालन गरेको सिलाईकटाई तालिममा सहभागी मध्ये उत्कृष्ट भएका ११ जनालाई आईतबार मेसिन उपलब्ध गराइएको हो ।

‘महिलाको सुरक्षा र अधिकार, संकटकालिन व्यवस्थापन हाम्रो सरोकार’ भन्ने मुलनाराका साथ दिवस मनाएको थियो । कोभिड संक्रमणलाई मध्यनजर गर्दै यसवर्षको दिवस मनाइएको नगर उपप्रमुख उमा थापा मगरले जानकारी दिइन् । उप–महानगरपालिकाले नगरका विभिन्न ११ मुख्य चौकमा दिवसको ब्यानर राखेको थियो ।

नेपाल प्रहरीले थप एक स्थानमा ब्यानर राखेको हो । दिवसको अवसरमा आईतबार विहान जुम प्रविधीमार्फत रेडियो अन्तरक्रिया गरिएको थियो । कार्यक्रममा उपप्रमुख मगर, बाँकेका सहायक प्रमुख जिल्ला अधिकारी दीर्घराज उपाध्याय, जिल्ला प्रहरी कार्यालय बाँकेका प्रमुख प्रहरी उपरीक्षक ओम बहादुर राना, अधिवक्ता सुनीता शर्मा लगायतको सहभागिता रहेको महिला, बालबालिका तथा जेष्ठ नागरिक शाखा प्रमुख शोभा शाहले जानकारी दिइन् ।

प्रकाशित मितिः सोमवार, जेष्ठ १७, २०७८     7:56:54 AM  |