कोरोनाबाट बाबुछोराको मृत्यु



कोहलपुर ।

बर्दियाको बाँसगढीमा हप्ता दिनको फरकमा बाबु र छोराको मृत्यु भएको छ । बाँसगढी नगरपालिका वडा नम्बर ६ का ८० वर्षीय गणेश थापा र ५५ वर्षीय बाबुराम थापाको कोरोनाबाट मृत्यु भएको हो । बुवा गणेशको जेठ ३ गते विहान ५ः३० बजे मृत्यु भएको थियो । छोरा बाबुरामको जेठ ९ गते राति एक बजे मृत्यु भएको स्वास्थ्य कार्यालय बर्दियाले जनाएको छ ।

दुवै जनाको नेपालगञ्जस्थित भेरी अस्पतालमा मृत्यु भएको हो । आफन्तको विवाहमा कञ्चनपुर गएका छोरा बाबुराम उतै बिरामी भएका थिए । वैशाख ७ गते कञ्चनपुरमै उनको पीसीआर गरिएको थियो । घर बर्दिया आएकै दिन सास फेर्न गाह्रो भएपछि एम्बुलेन्समा राखेर भेरीमा ल्याइएको थियो । उनलाई वैशाख २३ गते अस्पताल भर्ना गरिएको थियो । शरीरमा अक्सिजनको मात्रा कम भएकाले उनलाई खतरा देखिएको थियो । यहीबेला बुवा गणेशलाई पनि सन्चो भएन । बुवालाई २७ गते भेरीमा ल्याइयो ।

२८ गतेदेखि भर्ना गरिएको थियो । बुवाको ३ गते मृत्यु भयो । गम्भीर अवस्थामा रहेका छोरालाई बुवा बितेको खबर गरिएको थिएन । कहिलेकाहीँ छोराले बुवा खोइ ? भनेर सोध्दा सन्चो भयो भनेर जवाफ दिने गरिएको थियो । बुवा बितेको भनिदिँदा अझ समस्या देखिन सक्ने भएकाले ढाँटिएको थियो । उनको अवस्था दिन प्रतिदिन गम्भीर बन्दै गइरहेको थियो ।

बुवाको बितेको थाहा नपाएरै गत आइतबार राति छोरा बाबुरामको पनि मृत्यु भएको हो । गत सोमबार दिउँसो बाँके र बर्दियाको सीमानामा पर्ने मानखोलामा बाबुरामको दाहसंस्कार गरिएको थियो । उनलाई श्रीमतीले दागबत्ती दिएकी थिइन् । बुवा गणेशको चितामा छोरीतर्फका नातीले दागबत्ती दिएका थिए । गणेशका दुई छोरामध्ये जेठा बाबुरामको मृत्यु भएको छ भने कान्छो प्रकाश विदेशमा रहेका छन् ।

  • No tags available
प्रकाशित मिति : २०७८ जेठ १७ गते सोमबार