21 June 2021  |   सोमवार, असार ७, २०७८

अनि ट्वाइलेटको झ्यालबाट हामफालेर ज्यान जोगाएँ – सदीक्षा गैरे, नर्स

मिसनटुडे संवाददाता
प्रकाशित मितिः शुक्रबार, जेष्ठ १४, २०७८  

मेरो नाइट डियूटी थियो । बिहीबार राति सात बजे अस्पताल पुगिसकेको थिएँ । पीपीई लगायत आवश्यक स्वास्थ्य सुरक्षा सामग्री लगाएर कोभिड वार्डमा छिरें । बेड नम्बर १३ मा रहेका बिरामी गम्भीर अवस्थामा थिए ।

बिरामीको स्याचुरेसन डाउन हुँदै गइरहेको थियो । डियूटीमा रहेका दुई जना डाक्टर र चार जना नर्सहरु बिरामीको उपचारमा ब्यस्त थिए । उनलाई बचाउन सबै प्रयास जारी राखेका थियौं । तर पनि हामीले बचाउन सकेनौं । उनको मृत्यु पुष्टि गर्नका लागि ईसीजी गर्ने तयारी भइरहेको थियो ।

 

एक्कासी ६र७ जनाको समूह वार्डमा प्रवेश गरे । उनीहरुले मेरो घाँटी अठ्याउन थाले । त्यही बेला बिरामीका एकजना कुरुवा दाइ मेरो अगाडि आएर उनीहरुबाट बलतल्ल छुटाउन सफल भए । म अत्तालिँदै डाक्टर भएको ठाउँमा पुगें । उनीहरु लखेट्दै आइरहेका थिए । बिरामीको उपचारमा व्यस्त चिकित्सक र नर्सहरुले मलाई उद्धार गरेर क्याविनमा लिएर गए ।

तर पनि त्यो समूहले क्याविनमा तोडफोड गर्न छाडेन । क्याविनको ढोका तोडफोड गर्न थालेपछि क्याविनभित्रको एट्याच ट्वालेटभित्र हामी सबै पस्यौं । एट्याच ट्वाइलेटको ढोका पनि उनीहरुले तोडफोड गर्न लागे । त्यसपछि अब त मरिने भयो भन्ने लाग्यो । केही सोच्नै सक्ने अवस्था थिएन । चारै जना के गर्ने कसो गर्ने भनेर अत्तालिरहेका थियौं ।

त्यही बेला हामी सबैको ध्यान ट्वाइलेटको झ्यालमा पुग्यो । त्यही झ्याल फोडेर हाम फालौं भन्ने कुरा साथीहरुबाट आयो । तर मेरो हातखुट्टा सबै काँपीरहेको थियो । म रोइरहेको थिएँ । उनीहरु ढोकामा जोडतोडले हानिरहेका थिए । अन्ततः झ्याल फोडेर हामफाल्न तयार भयौं । तर मलाई हाम फाल्ने आँट नै आएन ।

डा। चन्द्रप्रकाश शाहुले मलाई हाम फाल्न फोर्स गरिरहनु भएको थियो । मलाई छाडेर पनि उहाँहरु हाम फाल्न सकिरहनु भएको थिएन । मलाई डा। शाहुले झ्यालमा उचालेर राखिदिनुभयो । उनीहरुको आक्रोश थप बढ्दै गइरहेको थियो । ढोका नै फोडेर भित्र पस्न थालेपछि डा। शाहु, नर्सहरु आश्विनी गुरुङ, बन्दना श्रेष्ठसहित हामी हाम फाल्न बाध्य भयौं ।
रातिको त्यो कहाली लाग्दो र त्रासदीपूर्ण दृश्य मेरो मानसपटलमा अहिले घुमिरहेको छ । त्यो सम्झिँदा म कसरी एकतला माथिबाट हाम फालें होला भनेर आफैंलाई विश्वास लागिरहेको छैन । त्यति माथिबाट हाम फाल्दा पनि कसरी बाँचे होला भनेर आफैंलाई विश्वास गर्न गाह्रो लागिरहेको छ । विकल्प पनि थिएन हामीसँग । उनीहरुको त्यो आक्रोश, त्यो आतंकित व्यवहार निकै डरलाग्दो थियो । यस्तो आतंकपूर्ण अनि त्रासदीपूर्ण वातावरण कोभिड वार्डभित्र झण्डै एक घण्टा नै चल्यो होला । यो अवधिमा सबैजना आ–आफ्नो ज्यान बचाउन वार्डभित्रै भागदौड मच्चियो ।
एकतला माथिबाट हामफालेकाले हुन सक्छ अहिले मेरो शरीरको पछाडि पेन भइरहेको छ । घाँटीमा पनि निलो डाम परेको छ । सँगै हामफाल्नु भएका स्वास्थ्यकर्मीहरुले पनि खुट्टा दुखिरहेको बताइरहेका छन् । सबै जनालाई बाहिरी चोटपटक छैन ।

नर्सिङ पेशामा लागेर राम्रै गर्छु भन्ने आत्मविश्वास ममा थियो । आफ्नो पेशा प्रति म सधैं इमान्दार नै थिएँ । तर बिहीबार रातिको त्यो त्रासदीपूर्ण घटनाले रातभर निदाउनै सकिन । रातभर त्यही त्रासदीपूर्ण दृश्य आँखा वरपर झलझली आइरह्यो । जति भुल्ने प्रयास गरेपनि सकि रहेको छैन । बिरामी कुरुवा दाईले मेरो उद्धार नगरेको भए मेरो ज्यानै जान्थ्यो होला । त्यो घटनाले मलाई अहिले यो पेशामा किन लागेछु, मेडिकल लाइन किन रोजेछु भन्ने लागेको छ ।

यो घटनाले इमोश्नल रुपमा बलियो पनि बनाएको महसुस गरेको छु । अरुको ज्यान बचाउने पेशामा लाग्दा यसरी एकतला माथिबाट हाम फालेर आफ्नै ज्यान बचाउनुपर्ने दिन आउँछ होला भनेर कल्पना पनि गरेको थिइनँ ।

यो महामारीमा आफ्नो ज्यानको बाजी राखेर अरुको ज्यान बचाउने स्वास्थ्यकर्मीमाथि हुने यस्तो सांघातिक हमलाले सबै स्वास्थ्यकर्मीको मनोवल गिराएको छ । स्वास्थ्यकर्मीलाई मनोवल उच्च बनाउन हौसला दिनुपर्ने बेलामा स्वास्थ्यकर्मीमाथि नै ज्यानमार्ने उद्देश्यले सांघातिक हमला हुनु दुःखदायी हो । त्यसैले यस घटनामा संलग्न दोषीलाई तत्काल कारबाही गरी स्वास्थ्यकर्मीहरुको सुरक्षाको ग्यारेन्टी सरकारले गर्न सक्नु पर्छ ।

प्रकाशित मितिः शुक्रबार, जेष्ठ १४, २०७८     9:51:47 PM  |

Leave a Reply

Your email address will not be published. Required fields are marked *