5 December 2021  |   आइतवार, मंसिर १९, २०७८

जीवन, राजवल्लभ, निरज, मुकेशको प्राविधिकलाई नगद सहयोग

मिसनटुडे संवाददाता
प्रकाशित मितिः बिहिबार, जेष्ठ १३, २०७८  

काठमाडौँ : लकडाउनका कारण दैनिकी गुजार्न समस्यामा परेका चलचित्र प्राविधिकको सहयोगमा फिल्मकर्मी अग्रसर भएका छन् । देशदेखि विदेशसम्म रहेका चलचित्रककर्मीले प्राविधिकको चुल्हो बाल्न मद्धत गरेका हुन् ।

चलचित्र प्राविधिक संघका अध्यक्ष पुष्कर लामाका अनुसार नेपाल चलचित्र प्राविधिक संघको विपद व्यवस्थापन कोषलाई अमेरिकामा रहेका नायकत्रेय जीवन लुइँटेल, राजवल्लभ कोइराला र निरज बरालले आ आफ्नो तर्फबाट ५१, ५१ हजार रुपैयाँ प्रदान गरेका छन् । अमेरिकाबाटै अभिनेता गणेश उप्रेतीले ५१ र नायक मुकेश आचार्यले २१ हजार रुपैयाँ विपद कोषलाई प्रदान गरेका छन् ।

यस्तै अष्ट्रेलियामा बस्दै आएका निर्देशक अग्रज केसीले प्राविधिकको सहयोगका लागि पन्ध्र हजार रुपैयाँ प्रदान गरेको लामाले फेसबुकमा उल्लेख गरेका छन् । प्राविधिकको सहयोगमा चलचित्र प्रोडशन डिजाईनर कृष्ण कोइरालाले १५ पनि हजार रुपैयाँ सहयोग गरेका छन् । सहयोगीहरुमा निर्माता तथा कलाकार तेजेन्द्र कंडेल पनि समावेश भएका छन् । उनले पन्ध्र हजार रुपैयाँ प्रदान गरे ।

निर्माता तथा कलाकार निर्मल शर्माले अध्यक्ष लामालाई घरमै बोलाएर बुधबार २५ हजार रुपैयाँ प्रदान गरेका थिए । बुधबारै नायिका सुमिना घिमिरे र उनका श्रीमान रोशन सापकोटाले चालिस जना प्राविधिकलाई एक महिनालाई पुग्न रासन प्रदान गरे ।

प्रकाशित मितिः बिहिबार, जेष्ठ १३, २०७८     8:45:39 PM  |