19 May 2024  |   आइतवार, जेष्ठ ६, २०८१

कोरोना संक्रमितको शरीरमा अक्सिजन बढाउने उपाय प्रोन पोजिसन कसरी गर्ने?

मिसनटुडे संवाददाता
प्रकाशित मितिः मङ्लबार, जेष्ठ ११, २०७८  

काठमाडौं– कोरोना संक्रमण भएर अस्पतालमा भर्ना भएका अघिकांश बिरामीहरु घोप्टो परेर सुतिरहेको देख्न सकिन्छ। हरेक अस्पतालका बेडमा कोरोना संक्रमितहरु घोप्टो परेर सुतिरहेको पाइन्छ ।

‘कोरोना संक्रमितलाई किन घोप्टो पारेर सुताइएको होला ?’ धेरैको मनमा उठेको प्रश्न हो यो ।

कोरोना संक्रमितलाई किन घोप्टो पारेर सुताइएको हुन्छ? यसरी सुताउनुको वैज्ञानिक कारण के छन्? हामीले त्रिवि शिक्षण अस्पतालका छाती रोग विशेष डाक्टर निरज बम र फिजियोथेरापिष्ट डा कृष्ण प्रसाद नेपाललाई सोधका छौं।

कोरोना संक्रमणले मानिसको फोक्सोलाई बिग्रार्छ। कोभिड निमोनियाको कारणले फोक्सोमा सहज रुपमा कार्वनडाइअक्साइड र अक्सिजन ओहोरदोहोर हुन सक्दैन। जसले गर्दा कोरोना संक्रमितको शरीरमा अक्सिजन स्याचुरेसन लेबल कम हुन्छ ।

कोरोनासँग लडिरहेका व्यक्तिहरुको अक्सिजन लेबल ८० भन्दा कम भयो र यदी बिरामीलाई सहि पोजिसनमा राखिएन भने शरीरमा अक्सिजन र कार्वनडाइअक्साइड सहज रुपमा आवतजावत हुन सक्दैन र बिरामीको अक्सिजन लेबल घट्दै गएर स्वास्थ्य अवस्था क्रिटिकल हुन्छ ।

यस्तो अवस्थामा बिरामीको स्वस्थ्य अवस्था राम्रो बनाउन बिरामीलाई घोप्टो पारेर राख्ने गरिन्छ । जसलाई मेडिकलको भाषामा ‘प्रोन पोजिसन’ भनिन्छ।

बिरामीलाई प्रोन पोजिसनमा राख्दा हातलाई फैलाउन र टाउको दायाँबाँया जता पनि फर्काउन सकिन्छ।

कोरोना संक्रमितको उपचारमा सबै अस्पतालहरुले बिरामीलाई प्रोन पोजिसनमा बस्न लगाउने अभ्यास गरेका छन्।

प्रोन पोजिसन सन् १९७० देखि नै चलिएकाहो हो। विशेषगरी निमोनिया बिग्रिएर एक्युट रेस्पिरेटरी डिस्ट्रेस सिन्ड्रोम (एआरडिएस) भएर भेन्टिलेटरमा रहेका बिरामीलाई प्रोन पोजिसनमा राख्दा मृत्युदर घटाएको देखिएको छ।

बिरामीलाई प्रोन पोजिसनमा कसरी राख्ने?

बिरामीलाई प्रोन पोजिसनमा राख्दा बेडको सबैभाग समथर हुनुपर्छ।
समथर बेडमा बिरामीलाई घोप्टो पारेर सुताउने।
यसरी सुताउदा बिरामीले टाउको दायाँ बाया गर्न सक्छन्।
प्रोन पोजिसनमा बिरामीलाई राख्दा टाउको, पेट र खुट्टामा सिरानी राख्न सकिन्छ।
पेटमा दुईवटा सिरानी, टाउकोमा एउटा र खुट्टाको गोलीगाँठानेर एउटा सिरानी राखेर घोप्टो परेर सुत्नुपर्छ।

प्रोन पोजिसनको फाइदा

कोभिड निमोनियामा अक्सिजनको कमी हुन्छ। प्रोन पोजिसनले शरीरमा अक्सिजन बढी प्रवाह गर्ने प्रयास गर्छ।
प्रोन पोजिसनले अक्सिजन सोपर्टमा रहेका बिरामी आइसीयुमा जानुपर्ने अवस्थामा कमी ल्याउछ।
भेन्टिलेटरमा जाने क्रमलाई पनि केही मात्रामा कम गर्न सहयोग गर्छ।
अक्सिजनको मात्रा शरीरमा बढाउन सहयोग गर्छ।
प्रोन पोजिसनमा सुत्दा फोक्सोलाई खुम्चन र फुल्न मद्दत गर्छ।
प्रोन पोजिसनमा बस्दा संक्रमितलाई आर्थिक भार पनि पर्दैन।

प्रोन पोजिसनमा बिरामीलाई कति समयसम्म राख्न मिल्छ?

बिरामीलाई कति समय प्रोन पोजिसनमा राख्ने भन्ने विषयमा अध्ययनहरु भइरहेको छ।
विशेषगरी हाई फ्लो अक्सिजन, क्यानुलामा वा अक्सिजन मास्कमा प्रति मिनेट १० देखि १५ लिटर अक्सिजन दिँदा पनि बिरामीको अक्सिजन लेबल ८५ देखि ८६ मात्र छ भने त्यस्ता बिरामीलाई प्रोन पोजिसनमा राख्नुपर्छ। ती बिरामीलाई कम्तिमा ३० मिनेट यसरी सुताउन सकिन्छ। यो अवधिमा अक्सिजन लेबल ९०–९२ लेबलमा पुगेको देखिन्छ।

तर, गर्भवती महिला, भर्खरै सर्जरी भएका, फ्याक्चर भएकाहरुलाई भने प्रोन पोजिसन गराउन उपयुक्त हुँदैन। #स्वास्थ्य खबर

प्रकाशित मितिः मङ्लबार, जेष्ठ ११, २०७८     11:00:34 AM  |