29 November 2021  |   सोमवार, मंसिर १३, २०७८

बाँकेमा टुट्यो कोरोनाको मृत्यु चेन

मिसनटुडे संवाददाता
प्रकाशित मितिः सोमवार, जेष्ठ १०, २०७८  

कोहलपुर ।

करिब एक महिनापछि बाँकेमा कोरोना संक्रमणका कारण मृत्यु हुने दर शून्यमा झरेको छ । पछिल्लो २४ घण्टामा आइतबार बाँकेका कुनै पनि संक्रमितको मृत्यु नभएको जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्र बाँकेले जनाएको छ ।

पछिल्लो एक महिनायता दैनिक बाँके जिल्लाभित्रका संक्रमितको उपचारकै क्रममा मृत्यु हुने गरेपनि दोस्रो लहर सुरु भएपछि पछिल्लो २४ घण्टामा मृत्युदर शून्यमा झरेको जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्र बाँकेका फोकल पर्सन तेज ओलीले जानकारी दिए ।

‘जिल्ला भित्रका कुनै पनि संक्रमितको पछिल्लो २४ घण्टामा मृत्यु भएको छैन’ उनले भने, ‘यो भनेको कोरोनाको दोस्रो लहर सुरु भएपछि मृत्यु संख्या शून्य हो ।’ अहिलेसम्म बाँके जिल्लाका २ सय ७३ जनाको मृत्यु भइसकेको छ ।

१ सय १६ महिला र १ सय ५७ पुरुषको मृत्यु भएको जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्र बाँकेले जारी गरेको तथ्यांकमा उल्लेख रहेको छ । पछिल्लो २४ घण्टामा जिल्लाभित्र संक्रमितको मृत्यु नभएपनि यहाँका अस्पतालहरुमा बाहिरी जिल्लामा ८ संक्रमितको मृत्यु भएको थियो ।

३ महिला र ५ पुरुषको बाहिरी जिल्लाबाट बाँकेमा उपचारका लागि ल्याइएका संक्रमितको मृत्यु भएको हो । योसँगै बाँकेमा बाहिरी जिल्लाका संक्रमितको मृत्यु हुने संख्या २ सय ४० पुगिसकेको छ ।

११४ थपिदाँ, ४५२ डिस्चार्ज

बाँकेमा पछिल्लो २४ घण्टामा आइतबार थप १ सय १४ जना कोरोना संक्रमित थपिएका छन् । जिल्लाका तीन प्रयोगशालामा गरिएको परीक्षणमा थप १ सय १४ जनामा संक्रमण पुष्टि भएको हो ।

तीमध्ये ५० जना महिला र ६४ जना पुरुष रहेको जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्र बाँकेले जनाएको छ । जिल्लाका तीन प्रयोगशालामा गरिएको परीक्षणमा ५८.२१ प्रतिशतमा संक्रमण पुष्टि हुदाँ बाँकेका २९.२ प्रतिशत मात्र पुष्टि भएको थियो ।

योसँगै बाँकेमा कोरोना कुल संक्रमितको संख्या १६ हजार ५ सय ९ पुगेको जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्र बाँकेका फोकल पर्सन ओलीले जानकारी दिए ।

पछिल्लो २४ घण्टामा १ सय १४ संक्रमित थपिदाँ थप ४ सय ५२ संक्रमित कोरोना जितेर डिस्चार्ज भएका छन् । जिल्लाका २ सय ३ जना महिला र २ सय ४९ जना पुरुष कोभिड संक्रमणबाट निको भएका हुन् ।

अहिलेसम्म बाँकेमा कोरोना जित्नेहरुको संख्या १४ हजार ६ सय ७९ पुगेको जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्र बाँकेले जनाएको छ । कोरोना जित्नेहरुमा ६ हजार २ सय ३५ महिला र ८ हजार ४ सय ४४ पुरुष रहेका छन् ।

आइतबार साँझसम्म बाँकेमा सक्रिय संक्रमितको संख्या ६ सय ६२ महिला र ८ सय ९५ पुरुष गरेर १ हजार ५ सय ५७ रहेको छ । तीमध्ये १२ सय ८४ होम आइसोलेसन र ३ सय ९४ अस्पताल तथा आइसोलेसन सेन्टरहरुमा रहेका थिए ।

प्रकाशित मितिः सोमवार, जेष्ठ १०, २०७८     9:26:51 AM  |