मधुर पौडेल । बर्दिया ।
बर्दियाको बाँसगढीमा नगरपालिकाका किसानहरुलाई धानको बीउ वितरण गर्न सुरु गरिएको छ । नगरपालिकाको कृषि विकास शाखाले मंगलबारदेखि अनुदानमा धानको बीउ वितरण गर्न सुरु गरेको हो । पहिलो दिन मंगलबार वडा नम्बर ४ र ५ का किसानलाई २ सय ३० क्विन्टल धान जातका धानको बीउ वितरण गरिएको नगर कृषि विकास शाखा बाँसगढीका प्रमुख लालबहादुर खड्काले जानकारी दिए ।
पहिलो दिन ८ वटा कृषक समुह, एउटा सहकारी र १२ जना किसानहरुलाई धानको बीउ वितरण गरिएको उनले बताए । ‘सो क्रममा हामीले साँवा साँवा मन्सुली धान १७ क्विन्टल, सावित्रि धान ५ क्विन्टल र मसिनो हाईव्रिड २ सय ८ किलाे वितरण गरेका छौं’ उनले भने, ‘नगरभित्रका सबै किसानहरुलाई ५० प्रतिशत अनुदानमा धानको बीउ वितरण गर्ने योजना अगाडि सारेका छौं ।’
कोरोना संक्रमण रोकथाम तथा नियन्त्रणको लागि गरिएको निषेधाज्ञाको समयमा समेत भौतिक दुरी कायम गरेर धानको बीउ वितरण गरिएको कृषि विकास शाखाका कृषि प्राविधिक राजु चौधरीले जानकारी दिए ।
यसरी निषेधाज्ञाको समयमा पनि नगरपालिकाबाट ५० प्रतिशत अनुदानमा धानको बीउ पाएपछि कृषकहरूसमेत हर्षित भएका छन् । धेरैले परम्परागत तरिकाले धान खेती गरिरहेको अवस्थामा नगरपालिकाले अनुदानमा उन्नत जातको धानको बीउ वितरण गरेपछि उत्पादन बढ्ने यहाँका किसानले अपेक्षा गरेका छन् । तर, मलखाद पर्याप्त उपलब्ध नहुँदा केही किसान निराश पनि छन् । उनीहरुले पर्याप्त मात्रामा किसानहरुलाई मल समेत उपलब्ध गराउन स्थानीय सरकारसँग माग समेत गरेका छन् ।
बैजनाथमा धानको बिउ वितरण शुरु
बाँकेको बैजनाथ गाउँपालिकामा धानको बिउ वितरण शुरु गरिएको छ । गाउँपालिकाका आठ वटै वडामा कृषि शाखाको अगुवाईमा धानको बिउ वितरण शुरु गरिएको हो । आर्थिक वर्ष २०७७/०७८ को कार्यक्रम अनुसार सबै वडा मार्फत किसानहरुलाई बिउ वितरण शुरु गरिएको गाउँपालिका स्तरीय कृषि शाखाले जनाएको छ ।
कृषि शाखा प्रमुख प्रमोद कुमार विश्वकर्माका अनुसार शसर्त अनुसार किसानहरुलाई मंगलबार वितरण शुरु गरिएको हो ।‘हामीले बिउ वितरण शुरु गरेका छौँ । सबै किसानसम्म पु¥याउने लक्ष्य रहेको छ । पहिलो चरणमा बढिभन्दा बढीलाई समेट्ने उद्देश्य रहेको छ ।’ उनले भने । पहिलो चरणमा गाउँपालिकाले २ सय ३३ क्विन्टल खरिद् गरेको छ ।
गाउँपालिकामा आइपुगेको सबै बिक्रिवितरण गरिने प्रमुख विश्वकर्माले जानकारी दिए । पहिलो चरणमा बिउ वितरण सकिएपछि फेरी ३ सय क्विन्टल बिउ गाउँपालिकामा आउने उनको भनाइ छ । प्रतिव्यक्ति १२ किलोका दरले बितरण गरिनेछ । एउटा बोरामा ३६ किलो बिउ हुन्छ । ३ जनालाई १ बेराका दर बितरण भइरहेको छ । उनी भन्छन्, ‘आठ वटै वडाबाट वितरण सुरु गरिएको छ । वडा नम्बर ७ र ५ मा आज (बुधबार) शुरु हुन्छ । अन्य वडामा भने वितरण शुरु भइसकेको छ ।’









प्रतिक्रिया दिनुहोस्