नेपाल पत्रकार महासंघ बाँके शाखाले एम्बुलेन्स खरिद गर्ने तयारी थालेको छ । कोरोना महामारीलाई मध्यनजर राख्दै पत्रकार तथा आमनागरिकलाई सर्वसुलभ रुपमा सेवा प्रदान गर्न एम्बुलेन्स खरिद गर्न महासंघले लागेको हो ।
‘सामान्य अवस्थामा समेत बिरामीको चाप बढ्दो छ, त्यसैले जो कोहीलाई पनि कुनैबेला एम्बुलेन्सको अभाव र आवश्यकता हुन्छ,’ महासंघका अध्यक्ष दामोदर भण्डारीले भने, ‘पत्रकार तथा आम नागरिकलाई सर्वसुलभ रुपमा सेवा दिने उद्देश्यले एम्बुलेन्स खरिद गर्न लागेका हौं ।’ उनका अनुसार एम्बुलेन्स खरिदको प्रक्रिया चाँडै अगाडि बढाइनेछ ।
एम्बुलेन्स खरिद गरिसकेपछि सञ्चालन र व्यवस्थापनको सम्पूर्ण काम महासंघ बाँके शाखाले नै गर्ने सचिव कमल डाँगीले जानकारी दिए । शाखाको शुक्रबार सम्पन्न बैठकले पनि एम्बुलेन्स खरिद गर्ने निर्णय गरिसकेको उनले बताए ।
मुनाफारहित सेवाभावले खरिद गर्न लागिएको एम्बुलेन्सको आर्थिक व्यवस्थापनका लागि उपाध्यक्ष संगीन शर्माको संयोजकत्वमा ७ सदस्यीय ‘आर्थिक सहयोग संकलन समिति’ गठन गरिएको छ ।
एम्बुलेन्स खरिदका लागि आर्थिक सहयोग गर्न सम्पूर्ण पत्रकार, सञ्चारगृह, उद्योगी, व्यवसायी, समाजसेवी, सरकारी/गैरसरकारी निकाय सबैलाई सार्वजनिक रुपमा आब्हान गरिएको शाखाका सह–सचिव कृष्ण ओलीले जानकारी दिए । एम्बुलेन्स सञ्चालन गर्नेमा बाँके सम्भवतः मुलुककै पहिलो शाखा हुने दाबी गरिएको छ ।

महासंघ बाँके शाखाले कोरोना महामारीलाई लक्षित गर्दै पत्रकारका लागि निःशुल्क रुपमा विशेषज्ञ सेवा पनि प्रदान गर्दै आएको छ । शाखाले कोरोना महामारी अवधिभरका लागि नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पतालमा कार्यरत फिजिसियन तथा फोक्सो रोग विशेषज्ञ डा. सुवास योगीलाई स्वास्थ्य परामर्शदाताको रुपमा नियुक्त गरेको छ ।
बाँकेका थुप्रै पत्रकारले अहिले निःशुल्क रुपमा उपचार तथा परामर्श लिइरहेका छन् । महासंघ अध्यक्ष दामोदर भण्डारी र डा.योगीबीच गत सोमबार निःशुल्क उपचार तथा परामर्शका लागि सम्झौता भएको थियो। कोरोनाबाट अहिलेसम्म करिब दुई दर्जन पत्रकार संक्रमित भइसकेका छन् ।
शुक्रबारको बैठकले बाँके शाखाको अनुरोधमा बाँकेका पत्रकारहरुलाई निःशुल्क स्वास्थ्य उपचार तथा परामर्श गरिरहेका डा. योगी र स्वास्थ्य सामाग्री प्रदान गर्ने सबैमा हार्दिक धन्यवाद तथा आभार प्रकट गर्दै निरन्तर सहकार्यका लागि अनुरोध गर्दै ईस्लाम धर्मालम्बीहरुको पवित्र पर्व ‘ईद–उल–फित्र’को अवसरमा सम्पूर्ण सञ्चारकर्मी एवं नेपालीमा हार्दिक शुभकामना व्यक्त गरेको थियो ।
मास्क र सेनिटाईजर प्रदान
नेपाल पत्रकार महासंघ बाँके शाखाले कोरोना महामारीकाबीच फिल्डमै गएर समाचार रिर्पोटिङ्ग गर्ने पत्रकारहरुलाई आवश्यक मास्क र सेनिटाईजर प्रदान गरेको छ । पत्रकार महासंघ बाँके शाखाको कार्यालयबाट उक्त स्वास्थ्य सामाग्री प्रदान गरिएको हो ।
शुक्रबार दिउँसोसम्म बाँकेका एकसय बढि पत्रकारले उक्त स्वास्थ्य सामाग्री बुझेको सचिव डाँगीले जानकारी दिए । यो कार्य निरन्तर रहने भन्दै आवश्यक पर्नेले महासंघमा आइ उक्त सामाग्री लिन उनले आग्रह गरेका छन् ।










प्रतिक्रिया दिनुहोस्