सीमा छुट्याउन सिमलको रुख



सीमा स्तम्भ नहुँदा नेपाल भारतको सीमा छुट्याउनको लागि दुवै देशका अधिकारीहरुले सिमलको रुखलाई नै सीमा छुट्याउने अस्त्र मान्दै आएका छन् । दाङको भौवानाकाका स्थानीयहरुले दुई देश बीचमा रहेको सिमलको रुखलाई नै सीमा क्षेत्र मान्छन् । नेपाली मात्रै होइन भारतीय अधिकारीहरुले समेत यही सिमलको रुखलाई सीमा मान्ने गरेका छन् ।
………………………………………
शिवु खनाल । दाङ ।
नेपाल भारत सीमा क्षेत्र नजिकै रहेको दशगजामा ठूलो सिमलको रुख छ । दक्षिणतर्फ भारत र उत्तरतर्फ नेपालको बीच दशजगाको केन्द्र बिन्दुमा ठूलो सिमलको रुख देखिन्छ । सिमलको रुखदेखि उत्तर तर्फतीर नेपालबाट भौवाखोला भारततर्फ बग्छ । सिमलको रुखदेखि उत्तरतर्फ नेपाली बस्तिहरू सजिलैसँग देख्न सकिन्छ भने पश्चिमतर्फ ६ सय २५ नम्बर र पूर्वमा ६ सय २४ नम्बरको नेपालको सीमा स्तम्भ
रहेको छ ।

‘दुई देशको सीमानालाई छुट्याउने यही सिमलको बोटलाई मान्दै आएका छौँ’ दाङ राजपुर गाउँपालिका वडा नम्बर ७ भौवानाका नेकबहादुर श्रेष्ठले भने, ‘रूकुमबाट २०४२ सालमा बसाइँसराई गरि भौवानाका आएदेखि दुई देशलाई छुट्याउने यहि सिमललाई मान्दै आएका छौँ । दशजगामा सीमा स्तम्भ नभएकै कारण सिमलको बोटलाई सीमा स्तम्भ मान्दै आएका हौँ ।

भौवानाकामा रहेको नेपाल भारत सीमा छुट्याउने सिमलको रुख । तस्बिरः शिवु खनाल

सिमलको रुखदेखि ठ्याक्कै दक्षिण तर्फ भारतीय सुरक्षा बल एसएसबीको क्याम्प रहेको छ ।’ पहाडबाट बसाइँसराई गरेर भौवानाका झरेका अधिकांश सीमाबासीहरूले दशजगामा सीमा स्तम्भ नभएकै कारण दुई देशको सीमा छुट्याउने सिमलको रुखलाई मान्दै आएका हुन् । ‘बसाइँसराई गरेर भौवानाका झरेदेखि यहि सिमलले दुई देशको सीमाना छुट्याउँदै आएको छ ।

बसाइसराई गरि हामी आउँदा सानो बिरुवा थियो । अहिले बढेर अग्लो भएको छ’ स्थानीय मंगल खड्काले ‘भारतले पनि सिमलदेखि दक्षिणतर्फ खनजोतदेखि लिएर अन्य केही कामकाज गर्न दिदैन । जे गर्छाैं सिमलको रुखदेखि उत्तरतर्फ कामकाज गर्छाै ।’ दशजगामा नेपालको सीमा स्तम्भ नभएकै कारण सिमलको बोटलाई सीमा स्तम्भ मान्न बाध्य भएको खड्का बताउँछन् ।

आफ्नै गाउँपालिका आउन पनि भौवानाकाबासीलाई भारतको भुमि प्रयोग गर्नुपर्ने बाध्यताले उनिहरू भारतीय सुरक्षाकर्मीको ज्यादती सहनु परेको, उनले बताए । नेपाली भुमि प्रयोग गर्न वर्षायाममा गतिलो बाटो नहुँदा नाकाबासीले नेपालमै आउन भारतीय भुमि प्रयोग गर्नुपर्ने अवस्थाले नाकाबासीलाई थप समस्या गरेको हो । यता भारतीय एसएसबीले पनि हाम्रो सिमाना कहाँसम्म छ हामीलाई पनि ठ्याक्कै थाहा नभएको बताउँदै आएको स्थानीय भौवाबासीहरू बताउँछन् ।

सीमाक्ष् ोत्रमा बसोबास गर्दै आइरहेका नाकाबासीहरूको अनुसार भारतीय एसएसबीले पनि दुई देशको सीमा छुट्याउने सिमलको बोटलाई मान्दै आएको उनिहरूको भनाइ रहेको छ ।

  • No tags available
प्रकाशित मिति : २०७८ वैशाख २८ गते मंगलबार