कोरोना कहरका कारण बाँके जिल्ला प्रभावित छ । यहाँका आठ वटै पालिका कोरोना महामारी विरुद्धको अभियानमा छन् ।यहाँका नेपालगन्ज उपमहानगरपालिका सबै भन्दा बढी प्रभावित बनेको छ । जिल्लाको एक मात्र कोहलपुर नगरपालिका पनि कोरोना महामारीको चपेटामा छ । कोहलपुर दैनिक कोरोना संक्रमित थपिनुका साथै मृत्यु हुने दर समेत बढेको छ । कोहलपुर नगरपालिकाले आफ्नो तर्फबाट कोरोना महामारीबाट बच्नको लागि प्रयास गरिरहेको छ । स्थानीय सरकार सँगै यहाँका निजी क्षेत्र समेत कोरोना विरुद्धको अभियानमा सक्रिय छन् । महामारीको समयमा स्थानीय सरकार र निजी क्षेत्र तथा राजनीतिक दल बीच जुनको किसिमको समन्वयकारी भूमिका देखिन सकेको छैन । तर निजी क्षेत्रको अग्रणी संस्था कोहलपुर उद्योग वाणिज्य संघले स्थानीय सरकारलाई सहयोग गरिरहेको छ । संघले दोस्रो चरणको कोरोना महामारी फैलिएसँगै अक्सिजनका सिलिण्डर र एम्बुलेन्स समेत निःशुल्क प्रदान गरेको छ । यस्तै व्यवसायिक क्षेत्रबाट सहयोग हुने बताएको छ । कोरोना महामारी विरुद्धको अभियानमा सक्रिय कोहलपुर नगरपालिकाको अवस्थामा निजी क्षेत्रबाट भएका प्रयास, सहयोग र समन्वय तथा उद्योग वाणिज्य संघको भूमिका लगायतका विषयमा कोहलपुर उद्योग वाणिज्य संघका अध्यक्ष लक्ष्मणराज पौडेलसँग मिसन टुडे दैनिकका शुभाकर विश्वकर्माले गरेको कुराकानीको सम्पादित अंश :
१. कोरोना महामारीको समयमा यहाँको दैनिक कसरी बितिरहेको छ ?
हामी दोस्रो चरणको कोरोना महामारीको सामना गरिरहेका छौ । महामारीको समयमा हामी व्यक्तिगत तथा संस्थागत रुपमा दैनिक काम मै व्यस्त छौ । व्यक्तिगत रुपमा यहाँका नागरिक, व्यवसायी तथा अन्य सरोकारवालाहरुसँग पनि फोन , म्यासेज तथा अन्य विधिबाट सबैसँग सम्पर्क समन्वय मै छु । सक्दो रुपमा कोरोनाबाट बढी क्षति नहोस भन्ने हाम्रो उद्देश्य रहेको छ । कोरोना महामारीको भयबाट आफै पनि सुरक्षित रुपमा बसिरहेको छु ।
२. संघको नेतृत्वमा आएको एक महिना पनि नबित्दै कोरोना कहर शुरु भयो, तपाईका प्रतिबद्धतालाई कतिको असर ग¥यो
नी ?
भयो नी , हामी भर्खरै नयाँ जोश र जाँगरका साथ आफ्नो प्रतिबद्धता पुरा गर्ने अभियाना थियो । सिंगो जिल्ला र देश नै प्रभावित भएको छ । स्वाभाविक रुपमा हामी पनि प्रभावित हुने भइहाल्यौ नै । हामी व्यवसायिक समस्या सुधार र व्यवसायहरुसँग दैनिक छलफल र समन्वयमा रहने र समग्र रुपमा कोहलपुरबासीको उद्धार गर्नुपर्ने अवस्था भएपनि पूर्ण रुपमा त्यतातिर पनि केन्द्रीत छौ ।कोहलपुर उद्योग वाणिज्य सघ कोहलपुरका जनता तथा व्यवसायीहरुको सेवा मै लागिरहेको छ । व्यवसाय त बाँचेपछि गरौँला भन्ने स्थिति भएको छ । त्यसैले सबैभन्दा पहिला आफू बाँचौ र अरुलाई पनि बचायौँ भन्ने नै हो ।हामीले व्यवसायीहरुसँग गरेका प्रतिबद्धता पुरा गर्न नभएपनि उहाँको जिउ ज्यानको सुरक्षाका लागि भने खटिरहेको अवस्था छ । हाम्रा योजना अहिले थाती छन् । यो क्रम लामो हुने देखिन्छ । तपाईले भन्नु भएजस्तै व्यवसायीहरुसँग गरेका प्रतिबद्धता कार्यान्वयन गर्न अट्चन भएको छ ।
३. कोरोना महामारी विरुद्धको अभियानमा छौँ भन्नुभयो, संस्थागत रुपमा कोरोना रोकथाम र नियन्त्रणका लागि के –के काम गर्नु भएको छ ?
जिल्लामा १२ गतेदेखि लकडाउन सुरु भयो । जिल्ला प्रशासन कार्यालयले अत्यावश्यक बाहेक सबै सेवा बन्द गर्ने आदेश जारी गरेको थियो । सोही अनुसार कोहलपुर क्षेत्रमा होलसेल तथा तरकारी, खाद्य र दैनिक उपभोग्य वस्तु बिक्रि वितरण गर्ने पसल तथा व्यवसाय सञ्चालनमा रहे । बिहान ६ बजेदेखि ९ बजेसम्म खुल्ला रहने निर्णय तथा निर्देशन गरिएको थियो । तर ती पसलहरुमा सेवाग्राहीहरको भीड अत्याधिक देखियो । जसका कारण कोरोना संक्रमणको झन जोखिम देखियो । पहिला हामीले माइकिङ गरेका थियौ । तर त्यो त्यति प्रभावकारी देखिएन । पछि उद्योग वाणिज्यसँग प्रत्येक पसलमा गएर प्रत्येक पसलमा अनिवार्य भौतिक दुरी कायम गर्ने अनिवार्य मास्क लगाउन निर्देशन जारी ग¥यौँ । पसलका अगाडि लक्ष्मण रेखाहरु कोरेर सेवा प्रदान गर्ने वातावरण सिर्जना गरियो । त्यति नै बेला कोहलपुर नगरपालिकाले प्रेम नगरमा सञ्चालन गरेको कोभिड अस्पतालमा अक्सिजन सिलिण्डर अभाव भएको भन्ने सूचना पाएपछि उद्योग वाणिज्य संघले अक्सिजन सिलिण्डर जोहो गरेर दियो । हामीले कोहलपुर नगरपालिकालाई १८ वटा सिलिण्डर सहयोग गरेको हो ।फेरी होम आइसोलेसनमा रहेका र खतरापूर्ण अवस्थामा रहेका बिरामीहरुको फोन आउन थाल्यो । एम्बुलेन्स अभाव भयो, व्यवस्थापन गरिदिनु प¥यो भनेर । मैले तुरुन्तै नगरप्रमुख ज्यूसँग सम्पर्क गरेर समस्या दर्साए । कोभिडका विषयमा हामी ठाउँ ठाउँमा जादाँ धेरै समस्या पनि देखिए । उद्योग वाणिज्य संघले जनताले सेवा नपाएको महशुस पनि ग¥यो । नगरपालिकाले पनि एउटा एम्बुलेन्स छ, त्यसले पुगिरहेको छैन भन्नु भयो । त्यसपछि कोहलपुर नगरपालिकाले व्यवस्थापन तथा सञ्चालन गर्ने गरी कोहलपुर नगरपालिकालाई कोहलपुर उद्योग वाणिज्य संघले एक एम्बुलेन्स समेत सहयोग गरेको छ ।
४. कोहलपुर नगरपालिकाले उद्योग वाणिज्य संघ महामारी नियन्त्रणको लागि कत्तिको साझेदारी र समन्वय गरेको छ नी ?
तपाईंले महत्वपूर्ण विषय उठाउनु भयो, अहिले पनि कोहलपुर नगरपालिकाले कोहलपुर उद्योग वाणिज्य संघलाई हेर्ने दृष्टिकोणमा परिवर्तन भएको देखिएन । अहिले पनि संघलाई दलीय आँखाबाट हेर्नेबाट हेर्ने गरेको मैले पाए । म आइसकेपछि पनि एक प्रकारको समस्या देखियो । अघिल्लो पटकको कोभिड महामारीको बेलामा पनि संघ र नगरपालिकाबीच समन्वय र सहकार्य देखिएको थिएन । त्यही कुरा पुनरावृत्ति भएको महशुस संघले गरेको छ । मेरो आग्रह के छ भने, यस्तो महामारीको बेलामा राजनीति गर्नु हुदैन । हामीले जसरी पनि कोहलपुरबासीको जिउ ज्यानको सुरक्षा गर्नुपर्ने अवस्था छ । सबैलाई भन्न चाहन्छु, झण्डा बोक्ने बेला आ आफ्नो झण्डा बोकौला, विरोध गर्ने पनि गरौला, झगडा गरौला । तर यो समय दलीय झण्डा बोक्ने, कुण्डाग्रस्त सोच लिएर अघि बढ्ने होइन । यहाँ त जीवन रक्षाको सवाल छ । यहाँनेर सबैलाई मिलाएर अघि बढ्ने, समन्वय गर्ने, सहकार्य गर्ने, सहयोग माग्ने लिने महत्वपूर्ण भूमिका त स्थानीय सरकारको हो । हामीले त उहाँहरुले आवश्यक ठान्नुभयो भने, सहयोग गर्ने र सँगै हातेमालो गर्ने हो । गाउँ–गाउँमा सिंहदरबार भनिएको छ, तर यहाँका नागरिकले पाउन सकिरहेका छैनन् । नगरपालिकाका नेतृत्वमा हुनुपर्ने व्यवस्थापकीय भूमिकाको कमी महशुस भएको छ । नगरपालिकाको नेतृत्व यही कुरामा चुकेको छ । नगरपालिका भित्रका जनप्रतिनिधि बीच पनि त्यस्ता समस्या देखिएका छन् । यो गम्भीर विषय हो । अहिलेको अवस्थामा यहाँ रहेका संघ संस्था, दल र स्थानीय सरकार एकजुट हुनुपर्छ । नगर सरकारले सबैलाई मिलाएर अघि लैजान सक्नुपर्छ ।अहिलेसम्म नगरपालिकाले कुनै पनि संस्थासँग सहयोगको लागि कुनै पनि किसिमको आह्वान पनि गरेको छैन । उसले गरेको काम पनि प्रभावकारी देखिएको छैन । यहाँ धेरै यस्ता धेरै व्यक्ति तथा संस्था छन्, की नगरपालिकाले भनेको भए हामी सहयोग गर्न तयार छौ भनेर बसिरहेको अवस्था छ । समन्वयको कमी भएको छ । कोहलपुर उद्योग वाणिज्य संघले महामारीको समयमा आफ्नो जिम्मेवारी सम्झेर अहिलेसम्म यति सहयोग गरेको हो । महामारीको समयमा हामीले नगरपालिकाले नेतृत्व गरेर एकद्धार प्रणालीबाट अघि बढ्नुपर्छ भन्ने हो ।
५. यस्तो अवस्थामा कसरी अघि बढ्दा प्रभावकारी होला ? के भन्नुहुन्छ ?
महामारीको समय भनेको सहकार्य र समन्वय गरेर अघि बढ्ने समय हो । जुन कोहलपुरमा अभाव खड्कियो । यस्तो अवस्थामा सबैले दबाब दिनुपर्छ । हामीले संस्थागत रुपमा यसरी अघि बढ्नुहोस भनेर सुझाव पनि दिएका छौ । उहाँहरु सुझाव पनि ग्रहण गर्नुहुन्न । आफू पनि नयाँ केही कुरा गर्न सकिरहनु भएको छैन । कोहलपुर नगरपालिकाले हामीसँग सहयोग मागोस नगरपालिकाको स्वामित्वमा कोभिड अस्पताल निर्माणको लागि सहयोग गर्न र अन्य निकायसँग माग्न तयार छौ । कम्तिमा नगरपालिकाले लिडिङ रोल निर्वाह त गर्नु प¥यो नी । हामीले जति सकेका छौ, सहयोग गरिरहेको अवस्था छ । कोहलपुर नगरपालिकामा रहेका उद्योगमा १ सय ५० भन्दा बढी अक्सिजन सिलिण्डर स्टक छ । नगरपालिका सिलिण्डर छैन भनिरहेको छ । यस्तो अवस्थामा कसरी हुन्छ जनताको सुरक्षा छ । हामीले नगरपालिकाले मागेको भन्दा पनि बढी सहयोग गरेका छौ । अझै पनि तयार छौ । नगरपालिका घरघरमा पुगिरहेको देखिन्छ । तपाईलाई कस्तो छ भनेको भरमा कोरोना सन्चो हुने हो र । कोरोनाबाट बच्नको लागि चाहिने पूर्वाधारको जोहो गर्नु पर्ने हो नी त । सेनिट्राइज पनि कतै गरेको देखिदैन । नगरपालिकाले भनोस हामी जतिबेला पनि तयार हुन्छौ ।
६. समाजमा ठूलो संयन्त्र रहेको राजनीतिक दलको भूमिका कस्तो पाउनु भएको छ ?
यहाँका राजनीतिक दलहरुको भूमिका पनि प्रभावकारी देखिएन । सबैले नगरपालिका मात्रै भनेको छ । कति गर्ला नगरपालिकाले लागेकै छ । राजनीतिकहरुको मिटिङ भन्ने फोटो खिज्ने बाहेक अरु काम देखिएन । अरु उपलब्धी जिरो छ । यो बेला प्रमुख कुन पार्टीको हो, उप–प्रमुख कुन पार्टीको हो भन्ने कुरा नै छैन नी । मिल्नु बाहेक अर्को विकल्प छै । जुंगाको लगाई गरेर हुन्छ र । लिडर भनेको असामान्य स्थितिमा आफ्नो खुबी देखाउने हो । त्यसैले राजनीतिक दल यसमा चनाखो देखिएन । राजनीतिक दलले आफ्नो संयन्त्र प्रयोग गर्नुपर्छ । सबैले आफ्नो ठाउँबाट जिम्मेबारी वहन गर्नुपर्छ । यहाँ त कोहलपुर नगरपालिको तयारी नै शुन्य देखियो । कोहलपुर नगरपालिकाले अनावश्यक संरचना बनाइरहेको छ । तर आवश्यक चिजमा अभाव छ मात्रै भन्छ । यस्ता कुरामा नगरपालिकालाई समेत गराउने भनेको राजनीतिक दलले हो । तर दल त्यसमा चुकेका छन् । नगरपालिकाले केही पनि गरेन भने औँला मात्रै उठाउने । उहाँहरुले के गर्नु भयो, एउटा काम केही छ । यसरी हुदैन । सबै मिलेर अघि बढ्नैपर्छ । कोरोना कहरबाट जोगिनको लागि हामीले संयमता अपनाउनै पर्छ ।
७. यहाँका केही व्यवसायीहरुले समेत कोरोनाका कारण ज्यान गुमाउनु भयो, उनीहरुको परिवारलाई संघले राहत वा सहयोग गरेको छ ?
पक्कै पनि कोहलपुरका केही व्यवसायीहरुलाई हामी गुमाउन पुगेका छौ । यसमा हामी निकै दुःखी छौ । परिवारप्रति समबेदना छ । अहिले भौतिक रुपमा भेटेर कुराकानी गर्ने अवस्था छैन । हामी फोन र अन्य माध्यमबाट उहाँहरुको परिवारसँग सम्पर्कमा छौ । सुरक्षित हुन र उच्च मनोवलका साथमा रहन आग्रह पनि गरेका छौ । जुटेर र भन्दा फुटेर कोरोना परास्त गर्ने समयमा छौ । कोहलपुर उद्योग वाणिज्य संघको धेरै साथीहरुले आइसोलेसनमा हुनुहुन्छ । धेरैले कोरोना जित्नु पनि भएको छ । कोरोनाको अवस्था सामान्य भयो र उहाँहरुले पनि उद्योग वाणिज्य संघबाट केही अपेक्षा राख्नु भयो भने,उहाँहरुलाई सहयोग गर्ने हाम्रो दायित्व रहन्छ । संघले ती व्यवसायीहरुको परिवारलाई राहत तथा सहयोगका कार्यक्रम अवश्य पनि ल्याएको छ ।
८.अन्त्यमा,कोहलपुर क्षेत्रमा देखिएको विद्यामान अवस्था न्यूनिकरणको लागि सम्पूर्ण सरोकारवालाहरुलाई के भन्न भन्न चाहनुहुन्छ ?
यो समय भनेको आफै सुरक्षित रहने हो । सबैलाई सकभर घर बाहिर ननिस्कन म आग्रह गर्न चाहन्छु । सबैलाई आफ्नो भूमिकाको विषयमा राम्रैसँग थाहा छ । त्यसैले मास्क प्रयोग गरौँ, सेनिटाइजरको प्रयोग गरौँ । आफू सुरक्षित रहौँ । अरुलाई सुरक्षित रहन आग्रह गरौँ । सम्पूर्ण कोहलपुरबासी र व्यवसायीहरुका दीघायूको कामना छ ।









प्रतिक्रिया दिनुहोस्