29 November 2021  |   सोमवार, मंसिर १३, २०७८

सम्पादकीय : किन घटेन संक्रमणदर ?

मिसनटुडे संवाददाता
प्रकाशित मितिः बुधबार, बैशाख २२, २०७८  

चैत्रको अन्तिम साताबाट बाँकेमा कोरोना संक्रमणदर दोस्रोपटक बढ्न सुरु ग¥यो । गत वर्ष सुरु भएको कोरोना महामारी नियन्त्रणमा आउन लागेको बताइरहेकै बेला जिल्लामा भने संक्रमणदर उकालो लाग्ने चरणमा थियो । अस्पताल भर्ना हुने कोरोना संक्रमितहरु नभएपछि नेपालगञ्ज मेडिकल कलेज शिक्षण अस्पतालको कोभिड वार्ड समेत बन्द गरियो । नेपालगञ्जस्थित भेरी अस्पतालको कोभिड वार्डमा समेत बिरामीहरुको संख्या नगन्य मात्रामा रहेको थियो । तर चैत्रको अन्तिम साताबाट गम्भीर खालका कोरोना संक्रमित बिरामीहरुले क्रमश कोभिड वार्डमा बेडहरु भरिन थाले ।

बैशाख नलाग्दै कोरोना संक्रमित गम्भीर बिरामीका कारण भेरीमा सबै कोभिड वार्डहरु भरिएर थप बिरामीहरु भर्ना गर्न सक्ने अवस्था रहेन । त्यतीबेलासम्म छिमेकी मुलुक भारतमा कोरोनाको नयाँ भेरियन्ट तिव्र रुपमा फैलिरहेको थियो । त्यसको असर नेपालका विभिन्न जिल्लाहरुमा समेत देखियो । भारतमा कोरोनाको दोस्रो लहर तिव्र रुपमा फैलिएपछि रोजगारीको लागि भारत पसेका नेपालीहरु धमाधम घर फर्किरहेका थिए । उनीहरुको घर फर्किदा सीमा नाकामा नै स्वास्थ्य परीक्षण गरेर नेपाल प्रवेश दिने वातावरण बन्न सकेन । हजारौंको संख्यामा भारतबाट नेपालीहरु गाउँ गाउँमा पुगे । त्यसको अवसर बैशाखको पहिलो साता देखियो, अहिलेसम्म पनि देखिरहेको छ ।

स्वास्थ्यकर्मीहरुले भिडभाड कडाई गर्नुपर्नेमा बाँकेमा स्थानीय प्रशासनले सभा सम्मेलन महोत्सव लगायतका गतिविधिहरु निर्वाध रुपमा सञ्चालनमा हुन दियो । बैशाखको पहिलो साताबाट दैनिक संक्रमणको दर २ सय बढी देखिन थाल्यो । अहिले भने दैनिक बाँके जिल्लामा मात्रै दैनिक ५ सय बढी नयाँ संक्रमितहरु थपिरहेका छन् । राज्यले आफ्नो ठूलो शक्ति कोरोना नियन्त्रण तथा रोकथाममा लगाउँदा समेत अझैंसम्म नियन्त्रणमा आउन सकेको छैन । कोरोनाको साङ्लो तोड्ने भन्दै बाँकेमा १३ बैशाखदेखि निषेधाज्ञा जारी गरिएको छ । तर त्यसको प्रभाव भने अझै देखिसकिएको छैन । यो समयमा दैनिक संक्रमित संख्या घट्नुपर्नेमा दैनिक बढिरहेको तथ्यांकले देखाउँछ । पहिलेको लापरवाहीका कारण निषेधाज्ञामा समेत संक्रमित थपिरहेका चिकित्सकहरु बताउँछन् । संक्रमणदर घटाउनको लागि तपाई हामीले सबैले सरकारले तोकेको स्वास्थ्य मापदण्ड पालना गर्नुपर्ने जरुरी छ । त्यसो हुन सके केही भएपनि अहिलेको संक्रमणदरमा कमी आउँनसक्छ ।

प्रकाशित मितिः बुधबार, बैशाख २२, २०७८     10:07:11 AM  |