9 December 2021  |   बिहिबार, मंसिर २३, २०७८

भेरीमा खाना खुवाउन उपमहानगरको सहयोग

मिसनटुडे संवाददाता
प्रकाशित मितिः बुधबार, बैशाख २२, २०७८  

नेपालगञ्ज ।

बाँकेको नेपालगञ्ज उपमहानगरपालिकाले भेरी अस्पतालमा उपचाररत कोरोना संक्रमित र कुरुवाहरुलाई खाना खुवाउन सहयोग गरेको छ । संक्रमित र अन्य बिरामीका कुरुवालाई लक्षित गर्दै सञ्चालित अञ्जनी माता रसोईले सञ्चालन गरेको खाना खुवाउने अभियानमा उपमहानगरले साथ दिएको हो । त्यहाँ नेपालगञ्ज उप–महानगरपालिकाले मासिक एकलाख ५० हजार रुपैयाँ सहयोग गर्ने जनाएको छ ।

विपन्न विरामी र कुरुवाहरुलाई २० रुपैयाँमा प्रति छाक विहानको खाना खुवाइरहेको रसोईलाई उप–महानगरपालिकाले मासिक ५० हजार रुपैयाँ सहयोग गरिरहेको छ । पछिल्लो समय कोभिडका बिरामीको संख्या बढेपछि रसोईले प्रति छाक ८० रुपैयाँमा साँझको खाना खुवाइरहेको छ ।

नेपालगन्जका मेयर डा. धवलशम्शेर राणाको अध्यक्षतामा बसेको बैठकले कोभिड–१९ संक्रमण रोकथाम र नियन्त्रणका लागि नगरभित्र उपचार तथा अन्य सेवा प्रभावकारीरुपमा अघि बढाउन पहल गर्ने निर्णय गरेको हो । नगर क्षेत्रभित्र कोभिड विरामीको सहजताका लागि एउटा एम्बुलेन्स सञ्चालनमा रहेको बैठकले अर्को एउटा एम्बुलेन्स समेत थप गर्ने निर्णय गरेको उप–मेयर उमा थापा मगरले जानकारी दिइन् ।

यसैगरी नगरभित्र होम आईसोलेसनमा बसेका विरामीहरुलाई वडाका स्वास्थ्य फोकल पर्सनहरुले नियमित फोन सम्पर्क गरी उनीहरुको स्वास्थ्य अवस्थाबारे जानकारी लिई आवश्यक परामर्श दिने निर्णय बैठकले गरेको थियो ।

प्रकाशित मितिः बुधबार, बैशाख २२, २०७८     9:37:25 AM  |