25 April 2024  |   शुक्रबार, बैशाख १४, २०८१

चौकुनेमा आइसोलेसन

मिसनटुडे संवाददाता
प्रकाशित मितिः बुधबार, बैशाख २२, २०७८  

सुर्खेत ।

कोरोना संक्रमणका कारण कर्णाली प्रदेशको राजधानी समेत प्रभावित छ । कर्णालीका अन्य जिल्लामा समेत कोरोना संक्रमणको दर उच्च बन्दै गएको छ । अहिले कर्णालीका दशवटै जिल्ला तथा स्थानीय तह कोरोना कहर नियन्त्रणका लागि प्रयासरत छन् । प्रदेशको राजधानी सुर्खेतका स्थानीय तह समेत आइसोलेसन सेन्टर बनाउन सक्रिय रुपमा लागिरहेका छन् ।

यस्तै प्रदेश राजधानी सुर्खेतको पश्चिममा रहेको चौकुने गाउँपालिकाले अक्सिजनसहितको आइसोलेसन सेन्टर स्थापना गरेको छ । चौकुने गाउँपालिका–६ मा रहेको जीवन ज्योति माध्यमिक विद्यालयमा सुविधासम्पन्न आइसोलेसन सेन्टर स्थापना गरिएको गाउँपालिकाले जनाएको छ । अध्यक्ष धीरबहादुर शाहीका अनुसार तत्कालका लागि बेड अक्सिजन सहितको आइसोलेसन सेन्टर स्थापना गरिएको हो ।

उनले केही समयपछि सेन्टरको क्षमता बढाएर ५० बेडको बनाउने लक्ष्य रहेको बताए । नयाँ भेरियन्टसहितको कोरोना संक्रमण तीव्र बनेपछि उपचारमा सहजताका लागि र अक्सिजनसहित आइसोलेसन कक्ष निर्माण गरिएको उनको भनाइ छ । ‘अहिले १२ वटा बेड तयारी अवस्थामा छन् । ६ वटा अक्सिजन सिलिण्डर पनि हामीसँग छन् । बाँकी अक्सिजन सिलिण्डर थप गर्दैछौं’, शाहीले भने ।

उनले कोरोना प्रभावित भारतका विभिन्न क्षेत्रबाट आउनेहरुका कारण समस्या भइरहेको बताएका छन् । उनीहरुको व्यवस्थापनका लागि सरोकारवाला निकायसँग छलफल जुटिसकेको उनले जानकारी दिए । यस्तै उनले गाउँपालिकामा कोरोना विरुद्धको सचेतना अभियान समेत सञ्चालन गरिरहेको जानकारी दिए । चौकुने गाउँपालिकामा मंगलबार आठ जनाको एन्टिजेन परीक्षण गर्दा ५ जनालाई संक्रमण देखिएको छ । तीमध्ये ३ जना होम आइसोलेसनमा र २ जना गाउँपालिकाको आइसोलेसनमा बसेका छन् ।

प्रकाशित मितिः बुधबार, बैशाख २२, २०७८     9:32:58 AM  |