26 April 2024  |   शनिबार, बैशाख १५, २०८१

संक्रमित गर्भवतीको सफल शल्यक्रिया

मिसनटुडे संवाददाता
प्रकाशित मितिः मङ्लबार, बैशाख २१, २०७८  

कोहलपुर ।

कोरोना भाइरस (कोभिड–१९) संक्रमित एक गर्भवतीले शल्यक्रियामार्फत बच्चा जन्माएकी छिन् । बाँके नेपालगञ्ज उप–महानगरपालिका, ६ फुलटेक्राकी ३२ वर्षीया महिलाले शल्यक्रियामार्फत छोरो जन्माएकी हुन् । नेपालगञ्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरमा महिलाको आइतबार राती शल्यक्रियामार्फत बच्चा निकालिएको थियो ।

गर्भवती महिलाको शल्यक्रिया अघि चिकित्सकको टीम

प्रसूति व्यथाले च्यापेपछि उनी आइतबार राती ९ बजेतिर मेडिकल कलेज कोहलपुरमा भर्ना भएकी थिइन् । सबै चेकजाँचपछि राती १२ः ३९ बजे शल्यक्रिया गरेर बच्चा निकालिएको शल्यक्रियामा संलग्न स्त्रीरोग विशेषज्ञ डा. कविता सिन्हाले जानकारी दिइन् । ‘उहाँको अवस्था क्रिटिकल थियो’ डा. सिन्हाले भनिन्, ‘अप्रेशन सफल भयो बच्चा र आमा दुवैको स्वास्थ्य अवस्था अहिले सामान्य छ ।’

पहिलो बच्चा पनि शल्यक्रियामार्फत निकालिएको उनले जानकारी दिइन् । पहिलो बच्चा शल्यक्रिया गरेर निकालेको १५ महिना पनि पुगेको छैन् । ‘पहिलो र दोस्रो बच्चाको जनमान्तर कम हुँदा पाठेघर फुट्ने अवस्थामा पुगेको रहेछ’ उनले भनिन्, ‘थोरै ढिला गरेको भए फुट्न सक्थ्यो ।’ बच्चाको तौल २ दशमलव ९ किलो रहेको छ । शल्यक्रियामा डा. सिन्हासहित प्रोफेसर डा. मीना सिन्हा, डा. गोमा रिमाल, शैलेन्द्र शाक्य, नर्स सरस्वती श्रेष्ठ, हेमा शाही, अम्बी महरालगायत सहभागी भएको मेडिकल कलेज कोहलपुरले जनाएको छ ।

प्रकाशित मितिः मङ्लबार, बैशाख २१, २०७८     9:54:11 AM  |