16 April 2024  |   मङ्लबार, बैशाख ४, २०८१

दाङको कोरोना अस्पताल बेलझुण्डीमा अक्सिजन अभाव

मिसनटुडे संवाददाता
प्रकाशित मितिः आइतवार, बैशाख १९, २०७८  

दाङ – दाङको कोरोना विशेष अस्पताल बेलझुण्डीमा अक्सिजनको अभाव भएको छ । शनिवारमात्रै अस्पतालमा शय्या (बेड) थपिए पनि अक्सिजन सकिएको अस्पतालले जनाएको छ । अहिले कोरोना विशेष अस्पतालमा एक सिलिन्डर पनि अक्सिजन नभएको अस्पताल व्यवस्थापक दोर्ण वलीले जानकारी दिनुभयो ।

अक्सिजन सकिएको र आफूले सम्बन्धित निकायमा शनिवार (हिजो) नै जानकारी गराए पनि अहिलेसम्म आपूर्ति नभएको वलीले बताउनुभयो । काेरोना अस्पताल बेलझुण्डीमा अक्सिजन छैन, स्थिति सङ्कटपूर्ण भइ सक्यो व्यवस्थापक वलीले भन्नुभयो अक्सिजन खोजौँ, बेलझुण्डी पुर्‍याऔँ, बिरामीकाे जीवन रक्षामा सबै लागाैँ । आज (आइतबार) मात्रै दुई जना बिरामीको ज्यान गएको छ । अहिले अस्पतालमा ५८ जनाको उपचार भइरहेको छ ।

पीसीआरका लागि तुलसीपुरमै स्वाब सङ्कलन सुरु 

कोरोना सङ्क्रमण भए/नभएको परीक्षणका लागि अब दाङको तुलसीपुरमै स्वाब सङ्कलन गर्न थालिएको छ । तुलसीपुरमा रहेको मेट्रो सीटी पोलिक्लिनिक प्रालीले कोरोना परीक्षणका लागि स्वाब सङ्कलनको काम सुरु गरेको हो ।

पीसीआर परीक्षणका लागि घोराही वा अन्य ठाउँमा जानुपर्ने बाध्यतालाई मध्यनजर गरी तुलसीपुरमै स्वाब सङ्कलनको व्यवस्था गरिएको पोलिक्लिनिकका सञ्चालक वसन्त योगीले जानकारी दिनुभयो ।

पाेलिक्लिनिकले तुलसीपुरको अरनिको मैदानमा आज ८ देखि १२ बजेसम्म स्वाब सङ्कलन गरिरहेको छ । भोलिबाट त्यही ठाउँमै दैनिक बिहान ७ देखि १२ बजेसम्म स्वाब दिन सकिने उहाँले बताउनुभयाे ।ujyaaloonline.com

प्रकाशित मितिः आइतवार, बैशाख १९, २०७८     1:23:35 PM  |