21 May 2024  |   मङ्लबार, जेष्ठ ८, २०८१

डुडुवामा उच्च सर्तकता

मिसनटुडे संवाददाता
प्रकाशित मितिः बिहिबार, बैशाख १६, २०७८  

नेपालगञ्ज ।

कोरोना संक्रमणको जोखिम उच्च रुपमा बढ्न थालेपछि त्यसको न्यूनीकरण तथा सावधानीका लागि अपनाइएका संयन्त्रहरुको अनुगमन गरिएको छ ।

डुडुवा गाउँपालिकाले सीमासँग जोडिएका नाका तथा स्थानहरुमा नेपाल आवतजावत गर्नेहरुको अवस्था तथा केही महिना अघि स्थापना गरिएका हेल्थ डेक्सहरुको मंगलबार अनुगमन गरिएको हो ।

गाउँपालिकाले सीमासँग जोडिएको होलियाको नयाँबस्ती, छोटी भन्सार र हिरिमिनियाको उद्युमगञ्जमा स्थापना गरिएको हेल्थ डेक्सको अनुगमन तथा संक्रमणको अवस्थाबारे अनुगमन गरिएको गाउँपालिकामा स्वास्थ्य शाखा प्रमुख धनबहादुर बुढाले जानकारी दिए ।

गाउँपालिका अध्यक्ष नरेन्द्रकुमार चौधरी नेतृत्वको टोलीले मंगलबार सबै नाकामा पुगेर अवस्थाबारे अनुगमन गर्दै कोरोना संक्रमणको दर उच्च रुपमा बढेकाले जोखिमबाट बच्न उच्च सर्तकता अपनाउन आग्रह गरेका थिए ।

यो समयमा सम्पूर्ण नागरिकहरु विशेष सावधानी अपनाएर घरभित्रै बसेर स्वास्थ्य सुरक्षाको ख्याल गर्नुपर्ने भन्दै नाकामा आवत जावत गर्ने मानिसहरुको जाँचको कार्यलाई प्रभावकारी बनाउन स्वास्थ्यकर्मीलाई निर्देशन समेत उनले दिए ।

कसैलाई पनि केही स्वास्थ्य समस्या देखिएमा तत्काल गाउँपालिकाका स्वास्थ्यकर्मीलाई सम्पर्क गर्न सबैलाई आग्रह गर्दै उनले सम्पुर्ण स्वास्थ्य इकाइहरुमा औषधी तथा स्वास्थ्य सुरक्षाका सामाग्रीहरुको राम्रो व्यवस्थापन गरेको दाबी गरे ।

गाउँपालिकाले सीमा नाकामा आउने मानिसहरुको ऐन्टिजेन जाँच तथा कोरोनाको लक्षण देखिएका विरामीहरुलाई पीसीआर स्वाब संकलनका लागि बेतहानी स्वास्थ्य चौकीमा रिफर गर्ने गरिएको स्वास्थ्य शाखा संयोजक बुढाले बताए ।

यसैबीच गाउँपालिका अन्र्तगत रहेको बाल सुधार केन्द्रमा माग भए बमोजिमको औषधीहरु समेत उपलब्ध गराइएको थियो ।

प्रकाशित मितिः बिहिबार, बैशाख १६, २०७८     9:33:04 AM  |