नेपालगञ्ज ।
बाँकेमा कोरोना भाइरस (कोभिड–१९) संक्रमणबाट सोमबार एकैदिन ५ जनाको मृत्यु भएको छ । बाँकेका चार जना र एक जना बर्दियाका कोरोना संक्रमितको मृत्यु भएको हो । नेपालगञ्जस्थित मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरमा दुईजना, भेरी अस्पतालमा एकजना, नेपालगञ्ज नर्सिङहोम प्रि–आइसोलेसन एकजना र होम आइसोलेसनमा बसेका एक जना गरी ५ जनाको मृत्यु भएको बाँकेका कोरोना फोकल पर्सन तेज ओलीले जानकारी दिए ।
शिक्षण अस्पतालमा कोहलपुर–५ बाँकेकी ४५ वर्षीय महिला र कोहलपुर–२ की ५० वर्षीय महिलाको मृत्यु भएको थियो । ४५ वर्षीया महिलाको उपचारको क्रममा सोमबार बिहान ७ बजे मृत्यु भएको हो । उनीमा शनिबार संक्रमण पुष्टि भएकोमा त्यसको भोलिपल्ट अस्पताल भर्ना भएकी थिइन् ।
कोहलपुर–२ कि ५० वर्षीया महिलाको उपचारको क्रममा सोमबार ४ बजे मृत्यु भएको फोकल पर्सन ओलीले बताए । आइतबार गरिएको पीसीआर परीक्षणमा उनीमा संक्रमण पुष्टि भएकोमा सोही दिन अस्पताल भर्ना भएकी थिइन् ।
यसैगरी भेरी अस्पतालमा उपचाररत बर्दियाको बढैयाताल–८ का ४३ वर्षीय पुरुषको सोमबार दिउँसो १२ बजे मृत्यु भएको थियो । नेपालगञ्ज मेडिकल कलेजमा आइतबार गरिएको पीसीआर परीक्षणमा उनीमा संक्रमण पुष्टि भएकोमा थप उपचारका लागि भेरी अस्पताल पु¥याउने बित्तिकै उनको मृत्यु भएको हो । नेपालगञ्ज नर्सिङहोम प्रि आइसोलेसनमा नेपालगञ्ज–४ कि ५५ वर्षीया महिलाको सोमबार दिउँसो २ः३५ बजे मृत्यु भएको फोकल पर्सन ओलीले जानकारी दिए । उनीमा आइतबार कोरोना संक्रमण पुष्टि भएको थियो ।
यसैगरी बाँकेको खजुरा–२ स्थित होम आइसोलेसनमा बसेका ८८ वर्षीय पुरुषको सोमबार दिउँसो ४ बजे मृत्यु भएको उनले बताए । वैशाख ४ गते गरिएको परीक्षणमा त्यसको भोलिपल्ट उनीमा संक्रमण पुष्टि भएको थियो ।
संक्रमण देखिए पनि उनको आफन्तले उनलाई होमआइसोलेसनमा राख्ने गरी अस्पतालको अनुमतिमा वैशाख १२ गते घर लगेको फोकल पर्सन ओलीले जानकारी दिए । सोमबार राती ९ बजेसम्म बाँकेमा जिल्ला भित्रका ९० र जिल्ला बाहिरका १०५ जना संक्रमितको मृत्यु भएको जिल्ला कोभिड १९ संकट व्यवस्थापन केन्द्रको बाँकेको तथ्यांकमा उल्लेख रहेको छ ।