कोहलपुर ।
त्रिभुवन विश्वविद्यालय अन्तर्गतका सबै परीक्षा स्थगित भएका छन् । परीक्षा नियन्त्रण कार्यालय बल्खुले सूचना जारी गर्दै वैशाख १४ देखिका सबै परीक्षा स्थगित भएको जनाएको हो । त्रिभुवन विश्व विद्यालयका आंगिक तथा सबन्धन प्राप्त क्याम्पसहरुको वार्षिक तथा सेमेस्टर प्राणालीका स्नातक एंव स्नातकोत्तर तहका विभिन्न परीक्षाहरु स्थगन भएको सूचनामा उल्लेख रहेको छ ।
‘लकडान तथा निषेधाज्ञाको कारण हाल संचालिन तथा सञ्चालनको प्रक्रियामा रहेका सम्पूर्ण परीक्षाहरु यथास्थितिमा सञ्चालन गर्न नसकिने परिस्थिति सृजना भएकाले त्रिवि सञ्चालक समितिको बैठकले अर्को सूचना जारी नभएसम्मका लागि स्थगित गरिएको छ’, सूचनामा उल्लेख गरिएको छ ।
सबै विद्यालय बन्द
कोरोना भाइरसको संक्रमण बढ्दै गएको र त्यो नियन्त्रणबाहिर जाने लागेको भन्दै सरकारले अर्को निर्णय नभएसम्म मुलुकभरका सबै विद्यालय बन्द गर्ने निर्णय गरेको छ । सोमबारको मन्त्रिपरिषद् बैठकले उक्त निर्णय लिएको मन्त्रीहरूले बताएका छन् ।
‘यसअघि नै विद्यालय बन्द गर्ने निर्णय भइसकेको छ । भर्चुअल माध्यमबाट मात्रै कक्षा सञ्चालन गर्नू भन्ने निर्देशन पनि भइसकेकोमा बैठकले सोही निर्णयलाई निरन्तरता दिएको हो,’ एक मन्त्रीले भने ।
त्यस्तै, सबै प्रकारका परीक्षा स्थगित गर्न सीसीएमसीले गरेको सिफारिस पनि मन्त्रिपरिषद्को बैठकले पारित गरेको छ । पहाडी क्षेत्रमा २०० र सहरी क्षेत्रमा ५०० भन्दा बढी सक्रिय संक्रमित भएमा निषेधाज्ञा लगाउनुपर्ने सीसीएमसीको सिफारिस पनि मन्त्रिपरिषद्को बैठकले पारित गरेको अर्का एक मन्त्रीले जानकारी दिए । ‘नेपाल ट्रान्जिट बनाएर तेस्रो मुलुक जाने क्रम रोक्ने, विदेशबाट आउनेलाई १४ दिन क्वारेन्टाइनमा राख्ने लगायतका निर्णय भएका छन्’ ती मन्त्रीले भने ।