कोहलपुर ।
बाँकेका विभिन्न अस्पतालका कोभिड वार्डमा उपचाररत कोरोना संक्रमितको मृत्यु हुने क्रम बढेको छ । पछिल्लो २३ घण्टामा मात्र बाँकेका विभिन्न कोभिड वार्ड ८ संक्रमितको उपचारको क्रममा मृत्यु भएको छ ।
शनिबार राती १० बजेदेखि आइतबार राती ९ बजेसम्म ८ जना संक्रमितको मृत्यु भएको हो । जिल्लामा कोरोना संक्रमणका कारण छोटो समयमा नै धेरैले ज्यान गुमाउने पहिलोपटक रहेको जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्र बाँकेले जनाएको छ । यो अवधिमा नेपालगञ्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरको कोभिड वार्डमा कोहलपुर, १० की ३६ वर्षीया महिलाको मृत्यु भएको थियो ।
भेरी अस्पतालको कोभिड वार्डमा खजुरा गाउँपालिका, ३ की ४७ वर्षीया महिलाको उपचारकै क्रममा मृत्यु भएको केन्द्रका फोकल पर्सन तेज ओलीले जानकारी दिए । यो अवधिमा भेरी अस्पतालकै कोभिड वार्डमा नेपालगञ्ज उप–महानगरपालिका, ११ का ६० वर्षीय पुरुषको उपचारकै क्रममा मृत्यु भयो । शिक्षण अस्पताल कोहलपुरमा कोहलपुर, १३ का ५७ वर्षीया पुरुषको उपचारकै क्रममा मृत्यु भएको जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्र बाँकेको तथ्यांकमा उल्लेख रहेको छ ।
त्यसैगरी भेरी अस्पतालको कोभिड वार्डमा कोहलपुर, २ का ४१ वर्षीया पुरुषको मृत्यु भएको थियो । होम आइसोलेसनमा बसेका उनको स्वास्थ्यमा समस्या आएपछि भेरी अस्पताल आउँदै गर्दा मृत्यु भएको केन्द्रका फोकल पर्सन ओलीले जानकारी दिए । शिक्षण अस्पताल कोहलपुरमा खजुरा, ८ की ५२ वर्षिया महिलाको मृत्यु भएको थियो । उनको मृत्यु पश्चात कोरोना संक्रमित पुष्टि भएको हो ।
यो अवधिमा बाहिरी जिल्लाका दुई संक्रमितको उपचारकै क्रममा मृत्यु भएको केन्द्रले जारी गरेको तथ्यांकले देखाउँछ । भेरीमा सोही अवधिमा बर्दिया गुलरिया नगरपालिका, ४ का ५६ वर्षीया पुरुषको मृत्यु भएको थियो । शिक्षण अस्पताल कोहलपुरमा ३९ वर्षीया महिलाको उपचारकै क्रममा मृत्यु भएको फोकल पर्सन ओलीले जानकारी दिए । अहिलेसम्म बाँकेमा जिल्लाका भित्रका ८६ र जिल्ला बाहिरका १०४ संक्रमितको उपचारकै क्रममा मृत्यु भइसकेको छ ।