निषेधाज्ञा अवधीभर बाँके जिल्लाभरि अत्यावश्यक सेवा र सोका लागि प्रयोग हुने सवारी साधन बाहेक बैंक तथा वित्तीय संस्था, सवारी साधन, पसल व्यवसाय, हाटबजार सञ्चालन र हिड्डुल गर्न समेत निषेध गरिएको छ । निषेधाज्ञा जिल्लाभर आज राती १२ बजेदेखि सुरु हुने जिल्ला प्रंशासन कार्यालय बाँकेले जनाएको छ ।
कोहलपुर ।
बाँके जिल्लाभर सोमबार (आज) राति १२ बजेदेखि एकसाताका लागि निषेधाज्ञा लागू हुँदैछ । जिल्लाभर कोरोना संक्रमणले महामारीकै रुप लिन थालेपछि सोमबार राति १२ बजेदेखि आगामी बैशाख २० गते राति १२ बजेसम्म लागू हुने गरी निषेधाज्ञा जारी गरिएको बाँकेका प्रमुख जिल्ला अधिकारीद्धारा जारी आदेशमा उल्लेख गरिएको छ । कोरोना महामारीको दोस्रो चरणमा उच्च संक्रमणका कारण भयावह स्थिति बन्दै गएपछि देशभरमा निषेधाज्ञा गरिएको बाँकेमा पहिलो हो ।
बाँकेको एकमात्र नेपालगञ्ज उप–महानगरपालिकामा १५ गतेसम्मका लागि निषेधाज्ञा जारी छ । शनिबार कोहलपुर नगरपालिका स्तरीय कोभिड १९ संकट व्यवस्थापन केन्द्रको आकस्मिक बैठकले नगर क्षेत्रमा आइतबार राति १२ देखि लागू हुनेगरी एकसाता निषेधाज्ञा जारी गर्न जिल्ला कोभिड –१९ संकट व्यवस्थापन केन्द्र बाँकेलाई सिफारिस गरेको थियो ।
आइतबार प्रमुख जिल्ला अधिकारी शिवराम गेलालद्धारा जारी गरिएको आदेशमा बैशाख ८ गतेदेखि नेपालगञ्जमा निषेधाज्ञा जारी रहेको र उक्त क्षेत्र बाहेक जिल्ला भरि नै संक्रमण बढिरहेको अवस्थामा कोहलपुर नगरपालिकामा समेत निषेधाज्ञाको लागि सिफारिस आएको आधारमा कोरोना संक्रमण फैलावटको साङ्लो तोड्नको लागि निषेधाज्ञा जारी गरिएको उल्लेख छ ।
यस्तै कोरोना रोकथाम तथा नियन्त्रणलाई प्रभावकारी बनाउन नेपाल सरकार (मन्त्रिपरिषद्) को मिति २०७८–०१–०६ को आदेश, संक्रामक रोग ऐन २०२० को दफा २ र स्थानीय प्रशासन ऐन २०२८ को दफा २ र स्थानीय प्रशासन ऐन २०२८ को दफा ६ (३) बमोजिम बाँके जिल्ला भरी एकसाताका लागि निषेधाज्ञा जारी भएको हो । उक्त अवधिमा जिल्लाभर अत्यावश्यक सेवा र सोका लागि प्रयोग हुने सवारी साधन बाहेक अन्य सेवा बन्द गर्न आदेश जारी गरिएको छ । प्रजिअ गेलालद्धारा जारी आदेशमा अत्यावश्यक सेवा र सोका लागि आवश्यक साधन बाहेक सबै प्रकारका सेवा बन्द गर्ने बताइएको छ ।
‘अन्य सबै प्रकारका सेवा (बैंक तथा वित्तीय संस्थासमेत), सवारी साधन, पसल व्यवसाय सञ्चालन र अत्यावश्यक काम बाहेक हिँडडुलमा समेत निषेध गर्नेछ’ जिल्ला प्रशासन कार्यालय बाँकेबाट जारी आदेशमा भनिएको छ । जिल्ला प्रशासन कार्यालय बाँकेको आदेशमा जिल्लाभर सञ्चालन गर्न पाइने सेवा एंव कार्य र साधनहरु बारेपनि उल्लेख गरिएको हो ।
उक्त आदेश अनुसार निषेधाज्ञा अवधिभर स्वास्थ्य, शान्ति सुरक्षा, विद्युत, दूरसञ्चार, खानेपानी, फोहोरमैला व्यवस्थापन,ग्यास, पेट्रोलियम पदार्थ, तरकारी, खाद्य तथा दुग्ध पदार्थ, औषधी पसल र बैंकका एटिएम जस्ता अत्यावश्यक सेवाहरु सार्वजनिक निर्माण कार्य, पूर्वनिर्धारित परिक्षा र हवाई सेवा सञ्चालन हुनेछन् ।
यस्तै उक्त अवधीमा एम्बुलेन्स, शववाहन, झाण्डावाल गाडी र निलो कुटनीतिक प्लेटका सवारी साधनहरु, लामो दुरीका सवारी, मालबाहक साधनहरु, निर्माण ढुवानीका साधनहरु, अत्यावश्यक सेवामा खटिएका जनशक्तिले प्रयोग गरेको सवारी साधन, अनुमति (पास ) प्राप्त साधनहरु रहेका छन् । आदेशमा उल्लेख गरिएको सेवा एवं कार्यमा संलग्न कर्मचारी, व्यक्तिले अनिवार्य रुपमा कर्मचारी परिचयपत्र एवं अन्य सान्दर्भिक साथमा राखेको हुनुपर्ने पनि उल्लेख गरिएको छ ।