कोहलपुर ।
बाँकेका विभिन्न प्रयोगशालामा गरिएको कोरोना परीक्षणको क्रममा ८०.५ प्रतिशतलाई संक्रमण देखिएको छ । बिहीबार पछिल्लो २४ घण्टामा गरिएको परीक्षणमध्ये ८०.५ प्रतिशतमा कोरोना संक्रमण पुष्टि भएको हो । भेरी अस्पताल, नेपालगञ्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुर र बागेश्वरीको प्रयोगशाला तथा जमुनाहा नाकामा गरिएको एन्टिजेन परीक्षणमा यती धेरैलाई संक्रमण देखिएको थियो ।
कुल ४ सय ८२ जनामा परीक्षण गर्दा ३ सय ८८ जनामा कोरोना संक्रमण देखिएको जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्र बाँकेका फोकल पर्सन तेज ओलीले जानकारी दिए । तीमध्ये अधिकांश संक्रमित बाँके जिल्लाका रहेको उनले बताए । भेरीको प्रयोगशालामा २ सय ७६ को परीक्षण गर्दा २ सय ४८, कोहलपुर मेडिकल कलेजमा १ सय ०७ को परीक्षण गर्दा ७३, बागेश्वरीको ल्याबमा ७४ को पीसीआर परीक्षण गर्दा ५९ र जमुनाहा नाकाको हेल्थ डेस्कमा २५ मा एन्टिजेन परीक्षण गर्दा ८ मा संक्रमण पुष्टि भएको थियो ।
यो संख्या कुल परीक्षणको ८०.५ प्रतिशत रहेको जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्र बाँकेले जनाएको छ । पछिल्लो २४ घण्टामा संक्रमण पुष्टि भएका अधिकांश बिरामीहरु रहेको सम्बन्धित अस्पतालहरुले जनाएका छन् । एक साता यता बाँकेमा ठूलो संख्यामा दैनिक नयाँ कोरोना संक्रमितहरु थपिरहेका छन् । नेपालगञ्जस्थित भेरी अस्पतालमा रहेको कोभिड वार्ड र नेपालगञ्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरमा रहेका कोभिड वार्डहरु संक्रमित बिरामीहरुले भरिसकिएका छन् ।