25 April 2024  |   शुक्रबार, बैशाख १४, २०८१

कोरोना खोपको दोस्रो डोज, बाँकेमा सात हजारले लगाए

मिसनटुडे संवाददाता
प्रकाशित मितिः शुक्रबार, बैशाख १०, २०७८  

कोहलपुर ।

बाँकेमा सात हजार जनाले कोरोना विरुद्धको दोस्रो चरणको खोपको डोज लगाएका छन् । जिल्लाका ९ वटा स्थानमा ३ दिनसम्म खोपको दोस्रो डोज लगाइएको थियो । सरकारको आह्वानमा स्वास्थ्य कार्यालय बाँकेले बैशाख ७ गतेबाट सुरु गरेको दोस्रो चरणको खोपको डोज लगाउने कार्यक्रम बिहीबार सकिएको हो । स्वास्थ्य कार्यालय बाँकेले तीन दिनको अवधीमा कुल ६ हजार ८ सय जनाले खोपको दोस्रो डोज लगाएको जानकारी दियो ।

स्वास्थ्य कार्यालय बाँकेका प्रमुख धिरजंग शाहले दोस्रो चरणको खोप लगाउने कार्यक्रममा नागरिकको उत्साहजनक सहभागिता रहेको बताए । पछिलोपटक गतवर्षको माघ १४ देखि २४ र फागुन २ देखि १० गते सरकारले पहिलो चरणको खोप अभियान सुरु गरेको थियो । पछिल्लो एक सातायता कोरोना संक्रमण तीव्र रुपमा फैलिरहेको नेपालगञ्ज उप–महानगरपालिकामा दुई स्थानमा खोप लगाईएको थियो ।

भेरी अस्पताल र उप–महानगरपालिकाको कार्यालयमा तीन दिनसम्म अभियान चलेको हो । कोहलपुर नगरपालिका र बैजनाथ गाउँपालिकामा ७ र ८ गते खोप लगाइएको थियोे । बैजनाथ गाउँपालिकामा दुई दिनमा १ सय ७० जनालाई खोपको दोस्रो डोज लगाइएको स्वास्थ्य कार्यालय बाँकेले जनाएको छ । बैजनाथ गाउँपालिकाको स्वास्थ्य शाखाका प्रमुख लक्ष्मण शाहीले दुई दिनको अवधीमा ९९ पुरुष र ७१ महिलालाई खोप लगाइएको जानकारी दिए ।

यस्तै कोहलपुरमा ९ जनालाई कोरोनाको दोस्रो डोज लगाइएको छ । कोहलपुरमा अन्य क्षेत्रमा पछिल्लो चरणमा खोप लगाएका मानिसले समेत दोस्रो डोज लगाएको नगर स्वास्थ्य शाखाका प्रमुख अनिल सेन ठकुरीले जानकारी दिए । उनका अनुसार पछिल्लो समय कोहलपुर कोरोनाको उच्च जोखिममा रहेको छ । दोस्रो चरणको खोप नेपालगञ्जसहित राप्तीसोनारी गाउँपालिका र डुडुवा गाउँपालिकामा समेत तीन दिनसम्म अभियान सञ्चालन गरिएको थियो ।

प्रकाशित मितिः शुक्रबार, बैशाख १०, २०७८     10:38:33 AM  |