16 September 2024  |   मङ्लबार, अशोज १, २०८१

कोहलपुर सवारी दुर्घटना: मृतकका आफन्तले बुझे शव

मिसनटुडे संवाददाता
प्रकाशित मितिः सोमवार, बैशाख ६, २०७८  

कोहलपुर ।

कोहलपुर नगरपालिका– १३ रोहिणी खोला नजिकै शुक्रबार साँझ भएको सवारी दुर्घटनामा मृत्यु भएकाहरुको शव आफन्तहरुले बुझेका छन् ।

सुर्खेतबाट कोहलपुर हुँदै पूर्वको धरान जाँदै गरेको मे १ ख ३३४७ नम्बरको बस र पूर्वबाट पश्चिमतर्फ आउँदै गरेको नम्बर नचढाइएको (अनटेस्ट) टिप्पर ठोक्किदा दुर्घटना भएको थियो ।

दुर्घटनामा टिप्परमा सवार दुई जना र बसमा सवार तीन जना गरि पाँच जनाको मृत्यु भएको थियो ।

मृतक पाँचै जनाको शव पोस्टमार्टम पछि आइतबार आफन्तहरुले बुझेको ईलाका प्रहरी कार्यालय कोहलपुरका प्रमुख प्रहरी नायब उपरीक्षक (डिएसपी) रबिन्द्र खनालले जानकारी दिए ।

‘सबै पक्षबीच सहमती भएपछि मृतकका आफन्तहरुले शवहरु बुझ्नुभएको छ’ उनले भने, ‘मृतकका परिवारलाई उचित क्षेतीपुर्ती र घाईतेहरुको निःशुल्क उपचार गर्ने सहमती भएको थियो ।’

दुर्घटनामा टिप्परका चालक कोहलपुर नगरपालिका ३ निवासी २५ वर्षीय खगेन्द्र सुनार र सह–चालक कोहलपुर नगरपालिका १२ निवासी २१ वर्षीय उदय बाठाको मृत्यु भएको थियो ।

त्यसैगरी मृत्यु हुनेमा बसमा सवार सुर्खेत साठाखानी–७ निवासी ४० वर्षीय जीवनकुमार विक, झापा मेची नगरपालिका–१० का ४५ वर्षका बस मालिक छत्रबहादुर कटुवाल र सिराहा सुखीपुर गाउँपालिका–३ घर भएकी ३२ वर्षीया अम्बिका कामती रहेका छन् ।

बसमा सवार रहेर मृत्यु भएका तीन जनाको शव शनिबार सहमती भएपश्चात आइतबार आफन्तहरुले बुझेर लगेको ईलाका प्रहरी कार्यालय कोहलपुरले जनाएको छ ।

टिप्परमा सवार रहेर मृत्युका भएका दुई जनाको शव भने आईतबार साँझ मात्र आफन्तहरुले बुझेका हुन् । क्षेतीपुर्तीको बिषयमा कुरा नमिलेपछि आफन्तहरुले शव बुझ्न मानेका थिएनन् ।

दिउँसो टिप्पर धनीसँग सहमती भएपछि मृतकका आफन्तहरुले शव बुझेको प्रहरीले जनाएको छ । उचित क्षेतीपुर्तीको माग राख्दै आफन्तहरुले आइतबार दिउँसो कोहलपुर चौराहामा प्रदर्शनसहित चक्काजाम समेत गरेका थिए ।

सवारी दुर्घटनामा परेर ३७ जना घाइते भएको ईलाका प्रहरी कार्यालय कोहलपुरमा मुद्दा फाँट ईन्चार्ज प्रहरी निरीक्षक सुबराज बमले जानकारी दिए । घाइतेमध्ये ७ जना गम्भीर घाइते भएको उनले बताए ।

घाइतेहरुको बाँकेसहित जिल्ला बाहिरका अन्य अस्पतालहरुमा उपचार भइरहेको छ । सामान्य घाइतेहरु उपचारपछि डिस्चार्ज भइसकेको प्रहरीले जनाएको छ ।

प्रकाशित मितिः सोमवार, बैशाख ६, २०७८     9:19:10 AM  |