12 September 2024  |   शुक्रबार, भदौ २८, २०८१

कोहलपुरमा आइसोलेसन वार्ड सञ्चालन

मिसनटुडे संवाददाता
प्रकाशित मितिः आइतवार, बैशाख ५, २०७८  

कोहलपुर

नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पतालमा कोभिड आइसियू तथा आइसोलेसन वार्ड सञ्चालनमा आएको छ ।बाँकेमा कोरोना संक्रमण दर बढ्दै जान थालेपछि सम्भावित संक्रमितको संख्या बढ्न सक्ने आकलन सहित शिक्षण अस्पतालमा वार्ड पुनः सञ्चालनमा आएको हो । अस्पतालले कोभिड–१९ सुरु भएदेखि नै संक्रमितहरुको शल्याक्रियाका साथै उपचार समेत गर्दै आएको थियो ।

नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पतालका सहायक निर्देशक डाक्टर नितेश कुमार कानोडियाले बाँकेमा बढ्दै गएको कोरोना संक्रमणलाई मध्यनजर गर्दै १५ बेडको आइसियू र ३० बेडको आइसोलेसन वार्ड सञ्चालनमा ल्याइएको जानकारी दिए ।

कानोडियाद्धारा हस्ताक्षरित विज्ञप्तिमा भनिएको छ,‘हाल पुनः कोरोना कहर बढ्दै जान थालेको छ । भेरी प्रादेशिक अस्पतालले बिरामीको चाप थेग्न नसक्ने भएकोले कोहलपुरमा पनि सेवा दिन थालिएको हो ।’ यस्तै महामारीको समयमा अस्पतालले नेपाल सरकारको नीति अनुसार सरकारसँगको सहमती र सहकार्यमा ४८६ जना बिरामीको उपचार गरिएको बताइएको छ ।

यस्तै कोरोना संक्रमितको बिरामीको उपचारको क्रममा अस्पतालका डाक्टर र कर्मचारी सहित १ सय ८८ जना संक्रमित भएका थिए । यस्तै विभिन्न जिल्लाबाट आएर ५२ जना बिरामीहरुको उपचार गरिएको थियो । यस्तै अस्पतालले कोरोना संक्रमण दर बढिरहेकोले सुरक्षित रहन सबैलाई आग्रह गरेको छ ।

प्रकाशित मितिः आइतवार, बैशाख ५, २०७८     11:41:39 AM  |