16 September 2024  |   मङ्लबार, अशोज १, २०८१

कोहलपुर दुर्घटना : रुदैँ आमा खोज्छन् राहुल !

मिसनटुडे संवाददाता
प्रकाशित मितिः आइतवार, बैशाख ५, २०७८  

शुभाकर विश्वकर्मा

कोहलपुरनेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पतालकोे बेड । त्यसमाथि घाइते मानिस बेडमा पल्टिरहेका छन् । उनको हातमा सलाइनको सुई लगाइएको छ । ती मानिसको खुट्टा अगाडि भावविह्वल अवस्थामा रहेको बालकको तस्बिरले निकै भावुक बनाउँछ । ती बालकको एक खुट्टामा मात्रै चप्पल छ । हात र खुट्टामा चोट लागेको छ । हाफ पेन्ट र भेस्ट लगाएका छन्, उनले ।

लामो कपाल भताभुंग देखिन्छ । यो तस्बिर शुक्रबार कोहलपुरमा भएको दुर्घटनामा बाँच्न सफल एक बालकको हो । उनलाई दुर्घटना स्थलबाट उद्धार गरेर ल्याएपछि अस्पतालमा खिचिएको तस्बिर हो । उनी हुन्, सिराहा बरियारपट्टी गाउँपालिकाका राहुल कामती । दुर्घटनामा उनले आमा गुमाए । ३२ बर्षीया अम्बिका कामतीको दुर्घटनामा मृत्यु भयो । तीव्र गतिका कारण भएको दुर्घटनामा उनको मातृत्व सदाका लागि छिनिएको छ । अम्बिका कर्णाली प्रदेशको राजधानी सुर्खेतमा कार्यरत थिइन् ।

उनी सुर्खेतमा ‘शिक्षाका लागि खाद्यान्न कार्यक्रम’मा कार्यरत थिइन् ।उनले कर्णालीमा काम गर्न थालेको सात वर्ष बितिसकेको छ । मृतक अम्बिकासँगै सुर्खेतमा कार्यरत धनुषाका तेजुप्रसाद शाह २०७० सालदेखि सुर्खेतमा कार्यरत रहेको बताउँछन् । उनका अनुसार शुक्रबार उनी एक साताको बिदामा आफ्नो घर जादैँ थिइन् । सिराहामा घरमा रहेकी पथ्थरकी रोगी सासुको उपचारको लागि बन्दै सुर्खेतमा बसमा आएकी उनको यात्रा सदाका लागि कोहलपुरमै रोकियो । सासुको उपचार गर्नुपर्ने थियो ।

अम्बिकाले सासुको उपचार गर्न पाइनन्, राहुलले आमा गुमाए । पथ्थरकी रोगी सासु अहिले पनि अम्बिका आउने प्रतिक्षमा दम बोकेर बसिरहेकी छन् । अम्बिकाका दुई सन्तान छन् । जेठी छोरी सिराहामा अध्ययन गर्छिन् । कान्छो छोरा राहुल उनीसँगै थिए ।अम्बिकामा श्रीमान बैदेशिक रोजगारीको क्रममा अहिले साउदी अरबमा रहेको आफन्त शाह बताउँछन् ।

‘शिक्षाका लागि खाद्यान्न कार्यक्रम’ जाजरकोटमा कार्यरत कोहलपुरका मानबहादुर ओली अम्बिकासँग सँगै काम गरेका दिन स्मरण गर्दै भन्छन्,‘उहाँ एकदमै मिलनसार र सोझो हुनुहुन्थ्यो । काममा निकै लगनशिल भएर लाग्ने बानी नै थियो ।उहाँको मृत्युको खबरले म विक्षिप्त भएको छु ।’

शुक्रबार साँझ कोहलपुर नगरपालिका १३ बाँके राष्ट्रिय निकुन्ज सडक खण्डको रोहणी खोला भएको सवारी दुर्घटनामा परि मृत्यु हुने मध्ये एक्लो महिला हुन्, अम्बिका । कोहलपुर इलाका प्रहरी कार्यालयका डिएसपी रविन्द्र खनालका अनुसार मृत्यु हुनेमा बाँकेको कोहलपुर नगरपालिका–१२ बस्ने २१ वर्षीय उदय बाठा, कोहलपुर–१३ का २५ वर्षीय खगेन्द्रबहादुर सुनार, सुर्खेत सापाखानी ७ का ४१ वर्षीय जीवनकुमार विक र झापा मेची नगरपालिका –१० का ४५ छत्रबहादुर कटवाल रहेका छन् । कटवाल बसका साहु हुन् ।

उक्त दुर्घटनामा आमाको काखबाट फुत्किएर अन्दाजी साढे तीन वर्षे बालक सकुशल बाँच्न सफल भएका हुन् । असई शेरबहादुर बस्नेत दुर्घटना भएको थाहा पाउन बित्तिकै प्रहरी घटनास्थल पुग्दा राहुल रोइरहेका थिए । त्यहाँको अवस्था निकै कारुणिक थियो । त्यहाँ भएका सबै रोइकराई गरिरहेका थिए । सोही क्रममा राहुलको प्रहरीले उद्धार ग¥यो । एम्बुलेन्स मार्फत पहिलो लट मै उनी सहितका घाइतेहरुलाई ल्याइएको थियो ।

असई बस्नेत भन्छन्,‘ उनी आमा आमा भन्दै रोइरहेका थिए । हामीले छिट्टै उद्धार गरेर अस्पतालमा ल्यायौ ।उनको सामान्य उपचार समेत भयो ।’ राहुललाई अस्पतालमा रहेको प्रहरी बिटमा प्रहरीको निगरानीमा राखिएको छ । उनको सुरक्षाको लागि एक जना महिला प्रहरी समेत त्यहाँ खटाइएको छ । उनलाई नुहाइधुवाई गरेर नयाँ कपडा किनेर लगाइएको छ । उनी घरीघरी रुदैँ आमालाई खोज्ने गरेको
उनले बताए ।

शनिबार दिउँसो मिसन टुडे दैनिक अस्पताल पुग्दा राहुल बेडमा सुतिरहेका थिए । करिब ५० मिटरको दुरीमा रहेको शवगृहमा उनकी मृतक आमा चीरनिन्द्रामा छिन् । बस्नेतका अनुसार राहुलका आफन्तसँग सम्पर्क भइसकेको छ । उनका आफन्त सिराहाबाट आइसकेका छन् ।

उनीहरु कोहलपुर नपुगुञ्जेल राहुल प्रहरीको संरक्षणमा रहनेछन् ।उनका आफन्त साझ दिउँसो २ बजेसम्म कोहलपुर पुग्ने बताइएको छ । उक्त दुर्घटनामा परी पाँच जनाको मृत्यु हुनुका साथै ३८ जना घाइते भएका थिए । ती मध्ये टोपेन्द्र शाही, तारा देवकोटा र सविता शाहीको आइसियूमा उपचार भइरहेको छ । अन्य घाइतेहरुको भने अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मितिः आइतवार, बैशाख ५, २०७८     11:40:36 AM  |