बाँकेमा थपिए २९ संक्रमित, शनिबार एक संक्रमित महिलाको मृत्यु



नेपालगञ्ज ।

बाँकेमा शनिबार एकैदिन थप २९ जनामा कोरोना भाइरस (कोभिड–१९) को संक्रमण पुष्टि भएको छ । जिल्लाका दुई प्रयोगशालामा गरिएको परीक्षणमा थप २९ जनामा संक्रमण पुष्टि भएको हो । थपिएका संक्रमितमध्ये १५ महिला र १४ जना पुरुषहरु रहेको जिल्ला कोभिड– १९ संकट व्यवस्थापन केन्द्र बाँकेले जनाएको छ ।

पछिल्लो २४ घण्टामा बाँकेमा थप २९ जनामा कोरोना पुष्टि भएको केन्द्रका फोकल पर्सन तेज ओलीले जानकारी दिए । उनका अनुसार भेरी अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणमा १८ जना, नेपालगञ्ज मेडिकल शिक्षण अस्पताल कोहलपुरमा गरिएको परीक्षणमा १० जना र जमुनाहा हेथ्थ डेस्कमा गरिएको एन्टीजेन परीक्षणमा १ जनामा संक्रमण पुष्टि भएको थियो ।

योसँगै बाँकेमा कोरोना संक्रमितको कुल संख्या ४ हजार ८ सय ४२ जना पुगेको छ । ४ हजार ६ सय ८५ जना कोरोना जितेर घर फर्किसकेको जिल्ला कोभिड– १९ संकट व्यवस्थापन केन्द्र बाँकेले जनाएको छ ।

शनिबार मात्र थप १३ जना संक्रमित कोरोना जितेर घर फर्किएका थिए । अहिलेसम्म जिल्लाका ५७ जना र जिल्ला बाहिरका ९० जना गरी १ सय ४७ जनाको उपचारको क्रममा मृत्यु भएको जिल्ला कोभिड– १९ संकट व्यवस्थापन केन्द्र बाँकेका फोकल पर्सन ओलीले जानकारी दिए ।

बाँकेमा बिरामीको मृत्यु दर प्रति एक सयमा ९६.७६ प्रतिशत रहेको छ । मृत्युदर भने १.१८ प्रतिशत रहेको जिल्ला कोभिड– १९ संकट व्यवस्थापन केन्द्र बाँकेले जारी गरेको तथ्यांकमा उल्लेख रहेको छ । शनिबार साँझसम्म बाँकेमा संक्रिय संक्रमित एक सय जना रहेका थिए ।

एक संक्रमितको मृत्यु

शनिबार बाँकेमा एक कोरोना संक्रमित महिलाको मृत्यु भएको छ । भेरी अस्पतालको कोभिड वार्डमा उपचारका क्रममा थप एक महिलाको मृत्यु भएको हो ।

मृतक महिला दुल्लु नगरपालिका ७ दैलेख घर भई हाल नेपालगञ्ज २ बस्ने ७३ वर्षीया महिला रहेकी छिन् । उनीलाई चैत्र १४ गते पीसीआर परीक्षण गर्दा कोरोना पुष्टि भएको थियो । संक्रमित उनी चैत्र २२ गते मात्र भेरी अस्पतालको कोभिड वार्डमा भर्ना भएकी थिइन् । उपचारकै क्रममा उनको शनिबार साँझ मृत्यु भएको भेरी अस्पतालले जनाएको छ ।

  • No tags available
प्रकाशित मिति : २०७७ चैत २९ गते आइतबार