8 September 2024  |   आइतवार, भदौ २३, २०८१

सम्पादकीय :आवश्यक तयारी

मिसनटुडे संवाददाता
प्रकाशित मितिः शुक्रबार, चैत्र २०, २०७७  

बाँकेमा बुधबार पछिल्लो २४ घण्टामा १३ जना नयाँ कोरोना संक्रमित थपिए । भेरी अस्पतालको प्रयोगशालामा गरिएको पीसीआर परीक्षणमा बाँकेमा मात्रै १३ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो । यो भनेको करिब दुई महिनायता जिल्लामा एकैदिन थपिएका संक्रमित धेरै हो । छिमेकी मुलुक भारतमा कोरोनाको दोस्रो लहर सुरु भइसकेकोले यसको असर नेपालमा समेत देखिने पक्कापक्की जस्तै रहेको छ । कोरोना संक्रमण नियन्त्रणको चरणमा पुगेको बेला एक्कासी अन्य देशहरुमा समेत कोरोना संक्रमण फेरी बढ्न थालेपछि सर्तकता अपनाइएको छ ।

नेपाल सरकारले कोरोना संक्रमण दर घट्न थालेपछि क्वारेन्टिन, आइसोलेसन लगायतका संरचना हटाएको थियो । कोरोनाको दोस्रो लहर सुरु हुन थालेसँगै नेपाल सरकारले फेरी देशभरका स्थानीय तहहरुलाई पत्राचार गर्दै आइसोलेसन, क्वारेन्टिन लगायतका संरचना तयार राख्न निर्देशन दिइसकेको छ । कोरोना रोकथाम तथा नियन्त्रणको लागि राज्य तीनै सरकारहरुले समन्वय गर्दै भूमिका निभाउनुपर्छ । अहिले पनि भारतबाट नेपालमा आवतजावत निर्बाध रुपमा भइरहेको छ । केही सीमा नाकामा सरकारले हेल्थ डेस्क स्थापना गरेपनि त्यो त्यती प्रभावकारी हुन सकेको छैन । त्यो पनि सबै सीमा नाकामा छैनन् ।

भारतसँगको खुल्ला सीमाको फाइदा उठाउँदै मानिसहरुको आवतजावत निर्बाध रुपमा भइरहेको छ । यसले केही भएपनि नेपालमा कोरोना संक्रमणको दर बढ्ने जोखिम बढेको छ । नेपालमा केही साताअघि दैनिक संक्रमित थपिने दर दुई अंकमा मात्र सिमित थियो । अहिले त्यो संख्या तीन अंकमा पुगिसकेको छ । दैनिक मृत्युदर हुने संख्या समेत अहिले नियमित रहेको छ । यसले पनि नेपालमा कोरोना संक्रमणदर बढ्दै जान थालेको देखाउँछ । अब सरकारले समेत आफ्नो तर्फबाट तयारी थाल्नुपर्छ । पछि कोरोना संक्रमणदर भयावक भएमा त्यसलाई नियन्त्रण गर्न सहज हुनेछ । कोरोनाको पहिलो लहरबाट केही भएपनि पाठ सिकेर त्यही अनुसार सरकारले पुर्वतयारी थाल्नुपर्ने अहिलेको आवश्यकता समेत हो । सोही अनुसार सरकारले आजैबाट तयारी थाल्नुपर्छ । आम मानिसहरुले समेत स्वास्थ्य मापदण्डको अनिवार्य रुपमा पालना गर्नुपर्ने देखिन्छ । तपाई हामी सबैजना मिले कोरोना रोकथाम तथा नियन्त्रणमा सरकारले चालेका कदमलाई केही भएपनि सहयोग पक्कै पुग्नेछ ।

प्रकाशित मितिः शुक्रबार, चैत्र २०, २०७७     11:07:24 AM  |